काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले वाम–लोकतान्त्रिक गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकांक्षा आफूहरुले पुरा गर्ने बताए  । 

जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने प्रतिवद्धता जनाए । प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने भन्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए । सत्ता गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए । 

 मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने  साथै काठमाडौं ८ मा आफूले सुरू गरेका कयौं परियोजना निरन्तरताका लागि समेत आफ्नो उम्मेदवारी रहेको बताए ।