उर्लाबारीः  तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले ठूलो तामझामका साथ मोरङको सुन्दरहरैचा–११ कर्जुनामा शिलान्यास गरेको प्रदेश नं १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पतालको अलपत्र परेको छ ।

तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक एक वटा सरुवा रोग अस्पताल बनाउने योजना  सरकारको नीति तथा कार्यक्रम तय गरेपछि २०७७ माघ १९ गते तत्कालीन मन्त्री ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरेका थिए । 

टेकु अस्पतालका तीन सय वेडले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याब सहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना सुन्दा स्थानीय बासिन्दा खुसीले गदगद भएका थिए । तर, अस्पतालको शिलान्यास गर्ने ठाउँमा अहिले तोरी उम्रिन थालेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले अस्पतालको शिलान्यास गर्ने भनेपछि पाक्न लागेको तोरी काटेर ठाउँ खाली गरिदिएको बताए । उनले भने, ‘‘त्यसपछि ६ बाली लगाएर उत्पादन लिइसकेँ । तर, न त ठेक्दार आए । न बीपी प्रतिष्ठान र प्रदेश सरकारका प्रतिनिधि आए । अस्पताल शिलान्यास भएपछि वर्षौँदेखि बिक्री नभएको शिलान्यास भएको छेउछाउको जग्गा प्लटिङवालाहरूले बिक्री गरेका छन् ।’’

अस्पताल बन्ने सम्भावना देखेर यहाँ धेरैले घडेरी किनेका थिए । तर, उनीहरू अहिले पछुताई रहेको न्यौपानेको भनाई छ । अस्पताल बन्ने भएपछि कर्जुना पैनी किनारमा बर्सौँ देखि सुकुम्वासी बनेर बसिरहेका परिवार पनि खुसी थिए ।

उनीहरूलाई मन्त्री ढकाल, बीपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. ज्ञानेन्द्र गिरी लगायतले अन्यत्र घरबासको व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।  तर, अहिलेसम्म न अस्पताल बन्यो, न अन्यत्र घरवासको टुङ्गो नै लाग्न सकेको छ । 

अस्पताल निर्माणका लागि आर्थिक वर्ष २०७६र०७७ मा आठ करोड रुपियाँ विनियोजन भएको बताइएको थियो । २५ करोड रुपियाँमा बन्ने अस्पताल ढकालले आफू मन्त्री रहेपनि नरहेपनि निर्माणमा ढुक्क रहन आश्वासन दिएका थिए  ।