उर्लाबारीः प्रदेश नं १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं मोरङ ३ (क) मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार शेखरचन्द्र थापाको बुधबार नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको छ । बुधबार बिहान १०ः४० बजेतिर थापाको निधन भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । 

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखुवराका स्थायी घर भएका ५८ वर्षीय थापा असोज २३ गते मनोनयन दर्ता गरे लगत्तै बिरामी परेका थिए । डेंगु सङ्क्रमण पुष्टि भएपछि नोबेलमै उपचार गराइरहेका थापालाई निमोनिया र पायल्स देखिएपछि थप उपचारका लागि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । 

२५ दिनपछिको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको थियो । थापालाई सोमबार विराटनगर ल्याइएको उनका स्वकीय सचिव रोशन पराजुलीले बताए । पराजुलीका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि गत सोमबार पुनः नोबेलमा भर्ना गरिएको थियो ।

shekhachandra-thapa

मोरङको पथरीशनिश्चरे ८ स्थित बुद्ध माध्यमिक विद्यालयमा २०४२ सालदेखि अध्यापन गराएका थापा २०४६ सालमा बहुदल आएपछि पहिलो पटक तत्कालीन मोरङ २ मा पार्टीको क्षेत्रीय सभापति बनेका थिए । 

विसं २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि उनको ८ वर्ष निजी सचिव भएर काम गरेका थापा २०७० को संविधानसभा निर्वाचनमा मोरङ २ बाट नेपाली काङ्ग्रेसको उम्मेद्वार बनेका थिए । २०७४ मा प्रदेश १ बाट समानुपातिक सांसद निर्वाचित भएका थापा नौ महिना अघि प्रदेश नं १ को वन, वातावरण तथा भू–संरक्षण मन्त्री बनेका थिए  । यो पटक उनी पार्टीको तर्फबाट मोरङ ३ ‘क’ को प्रत्यक्षतर्फको उम्मेद्वार बनेका थिए ।  थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

थापाको निधन भएपछि त्यो क्षेत्रमा कांग्रेसको उम्मेदवारका विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ । निर्वाचन अधिकृतको कार्यालयले निधनका विषयमा जानकारी गराएपछि आयोगले अरु गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयनलगायतका प्रक्रिया अघि बढाउने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए । अधिकारीका अनुसार निधन भएका उम्मेदवारको दलले मात्र उम्मेद्वारी दिन पाउने व्यवस्था छ ।गोरखापत्र अनलाइनबाट