इटहरीः दाँतको समस्या भएर उपचाररत रहेकी खोटाङ्ग जिल्लाको दिप्लुङ्ग चुइचुम्मा गाउँपालिका वडा नम्बर २ डाँडागाउँकी महिला वडा सदस्य पदम कुमारी नेपालीको निधन भएको छ । 

दाँत दुख्ने बिरामीले पछिल्लो समय निकै  सिकिस्त भएकी वडा सदस्य नेपालीको उपचारकै क्रममा निधन भएको बताइएको छ ।नेपाली  उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन भने त्यहाँ उनलाई  गिजाको अप्रेसन गरिएको थियो।

 निको नभएपछि थप उपचारका लागि बिराट नर्सिङ होम रिफर गरिएकोमा लैजाँदै गर्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भाई बिजय नेपालीका अनुसार यसअघि उनलाई सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा उपचार भर्ना गरिएकोमा निको नभएपछि धरान लगिएको थियो ।

धरानमा आइसियु अभाव नभएपछि विराटनगर रिफर गरिएकोमा लैजाँदै गर्दा बाटैमा नेपालीको निधन भएको हो । गत ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्य विजयी भएकी हुन् ।