काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा बाम(लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं –८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान सुरु गरेका छन् ।

विहीबार काठमाडौंको स्वयम्भूबाट अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।

सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने प्रतिवद्धता जनाउँदै श्रेष्ठले उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने बताए ।

अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिवद्धता पुरा गरेको बताउँदै उनले संघीय संसद्मा रहेर जनमुखी कानून बनाउन तथा आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भूमिका खेल्ने बताए  । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन लगायत बहुआयमिक विकासमा आफू केन्द्रित हुने  बताए । 

‘सबै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमुना क्षेत्र बनाउन सकिन्छ’, मतदातासँग मन्त्री श्रेष्ठले भने, ‘पर्यटकीय आकर्षणका योजनाहरु पनि अघि बढाउँछु ।’ 

घरदैलो अभियानको पहिलो दिन बिहीबार काठमाडौं ८ का भगवान पाउ, विजेश्वरी, बडेगाल,फुर्के सल्ला, तल्लो बिजेश्वरी, सशुख्वाट मार्ग र डल्लु चौतारा क्षेत्रमा बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूले मतदातासँग  भेटघाट गरेका हुन्  ।