इनरुवाः देशकै सञ्चारमन्त्री उम्मेदवार बनेको सुनसरी क्षेत्र नम्बर ४ मा दिनदिनै एक पछि अर्को राजनीतिक ट्विस्टको कारण सो क्षेत्रको निर्वाचन परिणामा हेरफेरको सम्भावना ब्यक्त गर्न थालिएको छ ।
सो क्षेत्रमा नेपाली कांग्रेस, माओवादीको गठबन्धनबाट सञ्चारमन्त्री कार्की उम्मेदवार बनेका छन भने एमाले र जसपाको गठबन्धनबाट जगदिशप्रसाद कुसियैत उम्मेदवार बनेका छन ।
तर दुबै गठबन्धनभित्रको असन्तुष्टी र टुटफुटको स्थितिले निर्वाचन परिणाममा बदलाव हुन सक्ने सम्भावना ब्यक्त गर्न थालिएको छ ।
एमाले गठबन्धनको जसपाका नेता डा. खालिद हुसैन हकले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि सो गठबन्धनको मतमा असर पर्ने स्थिति देखिएको छ भने कांग्रेसको गठबन्धनमा रहेका सोही क्षेत्रबाट यसअघि प्रदेश सभामा उम्मेदवार समेत बनेका नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व राज्यमन्त्री जाकिर हुसैन नेकपा एमालेमा प्रवेश गरेपछि त्यसले कांग्रेस गठबन्धनको मतलाई समेत प्रभावित पार्ने स्थिति बनेको छ ।
जाकिरको एमाले प्रवेशको प्रभाव
गत प्रदेशसभाको निर्वाचनमा उनी नेकपा माओवादीको तर्फबाट सो क्षेत्रको प्रदेशसभा ख बाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा कांग्रेसका उम्मेदवार महम्मद ताहिर मियाँसँग पराजित भएका उनले ७ हजार ६ सय ७० मत प्राप्त गरेका थिए । कांग्रेसका मियाँले ११ हजार ८ सय २५ मत प्राप्त गरेका थिए ।
मुस्लिम समुदायका मतदाताहरुको बाहुल्यता रहेको सो क्षेत्रमा राम्रो पकड रहेका जाकिरको प्रवेशले कांग्रेसको परम्परागत मतदाताको रुपमा रहेको मुस्लिम समुदायको मतदानमा प्रभावित पार्ने स्थिति देखिन्छ ।
सो निर्वाचन क्षेत्रमा झण्डै ८ हजार मतान्तरले अघिल्लो निर्वाचनमा विजयी भएका सञ्चारमन्त्री कार्कीको मत जाकिरको प्रवेशसँगै एमालेले प्रभाव पार्ने देखिन्छ ।
डा. खालिदको उम्मेदवारीको प्रभाव
जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका डा। खालिद हुसैन हकको उम्मेदवारीले नेपाली कांग्रेस र नेकपा एमाले दुबै पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई सकस हुने देखिएको छ ।
यसअघिको निर्वाचनमा सञ्चारमन्त्री कार्की जसपासमेतको गठबन्धनको मतबाट सो क्षेत्रमा ठूलो मतान्तरले विजयी बनेका थिए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको मतमा जसपाले करिब ९ हजार मत प्राप्त गरेको छ । जसपाले एमालेसँग गठबन्धन गरेको कारण बिगतमा कार्कीले पाएको मत अब घट्ने स्थिति देखिन्छ । तर डा। खालिदले एमालेसँग गठबन्धन गरेकोजसपाको सोही मत आफूले प्राप्त गर्न प्रयास गर्ने हुँदा गठबन्धनबाट एमालेलाई पनि पूर्ण फाईदा हुने स्थिति भने छैन ।
त्यहाँ कार्कीको मतान्तर घट्ने स्थिति रहेपनि सबै मत एमालेको पोल्टामा खस्ने स्थिति नरहँदा एमाले पनि पूर्ण फाईदाको स्थितिमा नरहने देखिन्छ ।
अर्कोतर्फ डा. खालिद मुस्लिम समुदायको अगुवा र बौद्धिक ब्यक्तित्व भएकोले उनको मुस्लिम समुदायमा राम्रो पकड छ । सुनसरी क्षेत्र नम्बर ४ मा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वा त्यो क्षेत्रको निर्वाचनमा मुस्लिम समुदाय निर्णायक शक्तिको रुपमा रहकोले उनलाई मुस्लिम समुदायको राम्रो समर्थन हुने सम्भावना रहन्छ ।
योसँगै जसपाका जिल्ला स्तरका प्रभावशाली नेताहरुले उनको चुनावी अभियानलाई सञ्चालन गरिरहेकोले मुस्लिम समुदायबाहेकका अन्य जसपाका नेता कार्यकर्ता र समर्थकहरुको समेत समर्थन हुँदा उनले मुस्लिम र अन्य समुदायको समर्थन हात पार्ने सम्भावनामा बलियो स्थिति देखिन्छ ।
अर्कोतर्फ सो क्षेत्रबाट दुई पटक संविधानसभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अत्याधिक मतले जितेको कारण सो क्षेत्रमा जसपाको लिगेसी र संगठनसमेत मजबुद रहेको छ । त्यस्तै चिकित्सक, विद्धान सामाजिक ब्यक्तित्वका कारण पनि उनीप्रति समर्थन बढ्ने देखिन्छ ।
डा. खलिदको सम्भावना
डा. खालिदको चुनावी अभियानलाई जसपाकै स्थानीय प्रभावशाली नेता कार्यकर्ताहरुले परिचालन गरिरहेको स्थिति र पार्टीले एमालेसँग गरेको गठबन्धनले उत्पन्न असन्तुष्टिका कारण त्या उनले जसपाको भोटबैंकमा राम्रो प्रभाव पार्ने स्थिति छ ।
समग्रमा करिब ९ हजार मत रहेको सो क्षेत्रमा आधा मत डा खालिदले पाउन सक्ने जसपाका नेताहरु सम्भावना ब्यक्त गर्छन । योसँगै डा। खालिदले मुस्लिम मतदाताको बाहुल्यता रहेको सो क्षेत्रमा आफ्नो प्रतिष्ठाका कारणपनि मुस्लिम मतदाताको मत विभाजन गर्न सक्ने स्थिति छ ।
उनले जसपाका स्थानीय मतदाताको र मुस्लिम समुदायको समर्थन पूर्ण रुपले पाएको स्थितिमा उनी एमाले र कांग्रेस गठबन्धनका उम्मेदवारसँग प्रतिष्पर्घात्मक स्थितिमा रहने छन ।
जसपाका नेता गुलाब शर्मा भन्छन, ‘डा. खालिदले एमालेसँग गठबन्धन भएको भएपनि जसपाको भोट बैंकमा राम्रो प्रभाव राख्छन । योसँग मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र भएकोले त्यहाँपनि उहाँको राम्रो प्रभाव पर्ने स्थितिले सुनसरी ४ मा यसपटक त्रिपक्षीय भिडन्तको सम्भावना छ ।’
कांग्रेसभित्रको अन्र्तद्धन्दको प्रभाव
सुनसरी जिल्लाका अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार नेपाली कांग्रेसभित्रको संस्थापन पक्ष समर्थकहरुले हात पारेकोले यो क्षेत्रसहित सुनसरीभरी संस्थापन इतर समूह असन्तुष्ट रहेको छ । उनीहरुले सार्वजनिक रुपमै आफ्नो असन्तुष्टीहरु सार्वजनिक गर्दै आएका छन ।
क्षेत्र नम्बर ४ का संस्थापन इतर समूहका नेताहरुले संस्थापन पक्षको कोपभाजमा पर्दा आफूहरुको राजनीति नै समाप्त हुँदै गएको निष्कर्ससहित विद्रोहको पनि सुरुवात गरिसकेका छन ।
जसमध्येका एक अब्बास अन्सारी कांग्रेस छाडेर नेकपा एमालेबाट ४ ख प्रदेशसभामा उम्मेदवार बनेका छन । उनलाई कांग्रेसकै संस्थापन इतर समूहको आन्तरिक समर्थन रहने स्थिति देखिएको छ । उनको उम्मेदवारीले पनि त्यहाँको कांग्रेसको परम्परागत मतदाताहरुमा धेरथोर असर पार्ने स्थिति रहेको हरिनगरका अगुवा इस्माईल मियाँ विश्लेषण गर्दछन ।
सो क्षेत्रमा स्थानीयको नेतृत्व क्षमताको विकास हुन नसकेको स्थितिको विश्लेषण स्वय कांग्रेसका नेताहरु गर्न थालेका छन । नाम उल्लेख नगर्ने सर्तमा एक कांग्रेसका स्थानीय नेता भन्छन, ‘विगतदेखि नै सो क्षेत्रमा बाहिरका मानिसहरु उम्मेदवार बनेर जित्दै जाँदै गर्दा पार्टीभित्र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न सक्ने स्थानीय नेतृत्वको विकास अवरुद्ध हुँदै गएको छ।’
अझै कांग्रेसका प्रभावशाली नेता राजिब कोइरालाले प्रतिनिधिसभाको टिकट नपाएपछि सो समूहको असन्तुष्टी अझै बढेर गएको छ । यसको प्रभाव पनि कांग्रेसलाई जिल्ला भरी पर्ने स्थिति देखिन्छ ।
स्थानीय नाराको प्रभाव
सुनसरी क्षेत्र नम्बर ४ मा यसपटक स्थानीय कि पर्यटक उम्मेदवार भन्ने नारा जोडतोडले उठेको छ । सामाजिक सञ्जालहरुमा यो नारा सो क्षेत्रका कांग्रेसदेखि अन्य दलका समर्थकहरुले पनि उठाईरहेका छन । यो नाराका कारण पनि यसपटक सो क्षेत्रको मतपरिणाममा केही फरक पार्ने स्थिति देखिन्छ ।
स्थानीय पत्रकार मुस्ताक आलम भन्छन, ‘सुनसरी ४ मा अहिले स्थानीय कि पर्यटक उम्मेदवार कस्लाई जिताउने भन्ने बहस सार्वजनिक रुपमै सुरु भएको छ । यसअघिको निर्वाचनमा त्यस्तो स्थिति थिएन । अहिलेको यो सार्वजनिक बहसले धेरैको मतदान ट्रेण्डलाई प्रभावित पार्ने स्थिति देखिएको छ ।’
उनी थप्छन, ‘अरु पार्टीका समर्थकले त यो नारा लगाएकै छन, कांग्रेसका समेत समर्थकहरुले जोडतोडले यो नारालाई अगाडि बढाएकोले कांग्रेसभित्र पनि यो विषयलाई लिएर असन्तुष्टी रहेको अनुमान लगाउन सकिन्छ ।’
जातीय समिकरण
सो क्षेत्रमा मुस्लिम, यादव, पहाडी समुदायको ठूलो जनसंख्या रहेको छ । निर्वाचनको समयमा सो क्षेत्रमा पहाडि बाहेक मुस्लिम र यादव समूदायको मत जातीय आधारमा खस्ने विगतदेखिकै टूेण्डले पनि त्यहाँको मतदानलाई प्रभावित पार्ने स्थिति छ ।
सो क्षेत्रमा मुस्लिम समुदायमा कांग्रेसको र यादव समुदायमा जसपाको पकड राम्रो देखिन्छ । स्वतन्त्र रुपमा मुस्लिम समुदायका डा.खालिद र एमाले गठबन्धनबाट जगदिश कुसियैत, लोसपाबाट कुञ्जिलाल यादव र पहाडि समूदायबाट कार्की उम्मेदवार बनेकोले जातीय धु्रबिकरणले पनि त्यहाँको मतदानको स्थितिमा धेरथोर प्रभाव पार्ने भोक्राहा नरसिंहका स्थानीय सामाजिक अगुवा रामकुमार यादव विश्लेष्ण गर्दछन ।
उनको विश्लेषणमा समग्रमा यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचन जस्तो दुई दलका उम्मेदवारबीच मात्रै प्रतिष्पर्घा हुने स्थिति छैन । यहाँ यसपटकको उम्मेदवारीले त्रिपक्षीयदेखि चौपक्षी भिडन्त हुने स्थितिले कुनैपनि उम्मेदवारले आफ्नो पक्षमा मतपरिणाम आउछ भनेर ढुक्क हुने स्थिति छैन ।