धरानः नेपालमा जन्मिएर नेपाली भूगोल बाहिर रहेका नेपालीहरूको पहलमा निस्कने प्रतिष्ठित वार्षिक साहित्यिक पुस्तक ‘परदेशीका बिम्बहरू’को लोकार्पण हुने भएको छ । आगामी पुस ७ गते धरानको सुनसरी उद्योग वाणिज्य सङ्घको सेमिनारमा ११ बजे पुस्तकको लोकार्पण हुने भएको हो ।

२०६५ सालदेखि हरेक वर्ष निस्कँदै आएको यो साहित्यिक पुस्तक यस वर्ष विशेष रहने अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका सचिव बुद्धि तेम्बे माइलाले बताए । पुस्तकका सम्पादक समेत रहेका साहित्यकार माइलाका अनुसार यो पुस्तकमा नेपाली भाषामा आजसम्म आएका वाद, विचार, दर्शन, प्रयोग, सिद्धान्त आदिलाई समेटिएको छ ।

नेपाली साहित्यका विभिन्न पाटाका ५३ हस्तीका ५३ शीर्षकका ५३ अन्तर्वार्ता पुस्तकले समेटेको सम्पादक माइलाले बताए । प्राध्यापक बालकृष्ण पोखरेल, वैरागी काइँलादेखि कृष्ण धरावासी तथा धर्मेन्द्र नेम्वाङ हुँदै नयाँ पुस्ताका साहित्यिक हस्तीहरू समेटिएको भारतीय सेनामा आबद्ध रहेका सम्पादक माइलाले बताए ।

प्रदेश नम्बर १ को प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले लोकार्पण गर्ने कार्यक्रममा भारतबाट ३ जना साहित्यिक व्यक्तित्वहरू आउने माइला बताउँछन् । उनी भन्छन्, ‘यो वर्षको हाम्रो पुस्तक पठनीय मात्रै होइन सङ्ग्रहणीय पनि छ ।’