काठमाडौंः नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरूको महत्वपूर्ण चाडपर्व दसैँ, तिहार, छठलगायत सुरु भएकाले यो समयमा पर्यटकीय गतिविधि स्वभाविक रूपले बढ्छ ।

पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले यो याममा बढी विदेशी पर्यटक नेपाल घुम्न आउछन् । मूख्य पर्यटकीय याम सुरु भएकाले विदेशी पर्यटकको आगमनमा वृद्धि भएको र आन्तरिक पर्यटकले गन्तव्य भरिभराउ रहेको पर्यटन व्यवसायी मोहन लम्साल बताउँछन् । 

“विस्तारै पर्यटकको फ्लो बढेको छ । महत्वपूर्ण पर्यटकीय याम चलिरहेकाले आगामी दिन पर्यटनका लागि सुखद् रहने देखिन्छ । अहिलेको पर्यटन क्षेत्रको चहलपहलले व्यवसायीलाई उत्साहित बनाएको छ”, नेपाल पर्वतारोहण सङ्घका महासचिव समेत रहनुभएका व्यवसायी लम्सालले भने ।

यतिखेर पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपालका विभिन्न गन्तव्यमा निस्केका छन् । आन्तरिक पर्यटक पनि गन्तव्यमा झुम्मिएका छन् ।

पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको शरद ऋतुमा सगरमाथासहित विभिन्न २१ हिमाल तथा चुली आरोहणका लागि ६९ आरोही समूहका पाँचसय ७९ आरोहीले आरोहण अनुमति लिएका छन् ।

सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका ४०४ जनाले अनुमति पाएका छन् । उनीहरू यतिखेर आरोहणमा व्यस्त छन् । नेपालसहित ६७ देशका नागरिक पर्वतारोहणमा निस्किएका छन् । आन्तरिक पर्यटकको पनि गन्तव्यमा घुँइचो लाग्छ ।

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । महामारीपछि पर्यटक आगमनदर सुध्रिएको छ भने पर्यटकीय गतिविधि पनि बढेको छ ।

राजधानी काठमाडौं, पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रा गन्तव्यमा उल्लेख्य सङ्ख्यामा पर्यटक गएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले पछिल्लो सयम विदेशी तथा स्वदेशी पर्यटक बाक्लो सङ्ख्यामा गन्तव्यतिर लागेको बताए ।

चर्चित अन्नपूर्ण, लाङटाङ् खुम्बु क्षेत्रलगायत क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बाक्लिएको छ । अन्य गन्तव्यमा पनि पर्यटन गतिविधि बढेको छ ।

नेपालमा यस याममा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउँछन् । सफा मौसम, दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्व पर्ने भएकाले विदेशीका साथै गैरआवासीय नेपाली पनि उत्तिकै आउँछन् । विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि यो उपयुक्त समय हो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यो याममा पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकको चहल पहल बाक्लिएको बताए । उनले पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि नयाँ तौर तरिकाबाट योजनाबद्ध कार्यक्रम ल्याइने बताए ।

भारत, बङ्गलादेशलगायत मुलुकबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षित गर्न सोही किसिमको बजार रणनीतिका साथ बोर्ड लागिपरेको निर्देशक लामिछानेको भनाइ छ ।

होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटक आगमनदर वृद्धि भएको बताए । पर्यटनका लागि उपयुक्त मौसम भएकाले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटक आउने उनले विश्वास व्यक्त गरे ।

“विदेशी पर्यटकको होटल बुकिङ्ग सकारात्मक छ । अहिले ४० प्रतिशत हाराहारीको बुकिङ्ग छ”, शाहले भने ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटन क्षेत्र विस्तारै जुर्मुराउँदो अवस्थामा रहेको उल्लेख गर्दै यसलाई फलदायी बनाउन रणनीतिक बजारीकरण जरुरी भएको बताए । उनले पर्यटन पुनरुत्थानको कार्यलाई चाडो अघि बढाइ पूर्वाधार विकास र सेवा स्तरोन्नतिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

पाटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले नेपालमा पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन र ‘इभेन्ट’ चलिरहेकाले पर्यटन क्षेत्रमा सकारात्मक सङ्केत देखिएको बताए ।

पर्यटन पुनरुत्थानका लागि सरकारले हालै नेपाल भ्रमण दशक (सन् २०२३ देखि ३२) घोषणा गरेको छ ।

सरकार र निजी क्षेत्रको साझेदारीमा भ्रमण दशकको कार्ययोजना चाँडै सार्वजनिक गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनले पर्यटनका अन्य क्षेत्रको सम्भावना पहिचान र प्रवद्र्धनका साथै पूर्वाधार विस्तार गरिने बताए ।

कोभिड–१९ पछिको पर्यटनलाई नयाँपन दिएर चलायमान बोर्डले अन्तरराष्ट्रिय बजारीकरण नयाँ ढंगले अघि बढाउने नीति लिएको बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बताए । उनले पर्यटन क्षेत्रको नयाँ ढङ्गले बजारीकरण र प्रवद्र्धन गर्न नीतिगत सुधारका साथै सेवामा विविधिकरण र सुदृढीकरण गरिनुपर्नेमा जोड दिए ।

पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ पूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२र१२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका बताइएको छ । रासस