इटहरीः गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएपछि दर्जन भन्दा बढि फसेका छन् । 

पर्यटन विभागका दिएको जानकारी अनुसार  मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना फसेका छन् ।  मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको पनि पर्यटन बिभागले बताएको छ । 

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र उद्धारमा समस्या भएको छ । हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ भने उद्धारको लागि पहल भइरहेको छ । 

गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको बताईएको छ । 

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।