काठमाडौंः  लामखुट्टेको टोकाईबाट हुने डेंगी रोगका कारण हालसम्म नेपालमा  मृत्यु हुनेको संख्या २४ पुगेको छ । यो रोग नेपालमा असारयता तीव्र रूपमा फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाको तथ्यांकानुसार हिजोसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको छ ।

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार १०४ र भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार ९४८ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ८२९ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार १८०, रुपन्देहीमा ६७९, चितवनमा ४५१, धादिङमा ३९९, गुल्मीमा २९२ र कैलालीमा २०२ जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

डेंगी संक्रमितमा हुने शरीरको दुखाइ कम गर्न पेनकिलर खाँदा आन्तरिक र बाह्य रक्तस्राव भई बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले पेनकिलरको प्रयोग नगर्न वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सुझाव दिन्छन् ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु जरुरी हुने पुन बताउछन् ।