काठमाडौंः  सरकारले प्रकोपका बेला ‘सिटामोलको अभाव नगराउन’ निर्देशन दिएसँगै मूल्य बढाउन माग गर्दै आएका नेपाली औषधि उद्योगीले अहिलेकै शुल्कमा उत्पादन बढाउने भएका छन् ।

पछिल्ला वर्षहरूमा महामारीजन्य रोगहरूसँगै सिटामोलको खपत उच्च भएपछि उद्योगीले अहिलेकै मूल्यमा उत्पादन बढाउन नसक्ने भन्दै मूल्य समायोजनको माग गरेका थिए ।

तर, सरकारले उद्योगीको अनुरोध नसुनेपछि अहिलेलाई अभाव हुन नदिन सिटामोलको उत्पादन बढाइएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले बताए । पछिल्लो समय डेंगी संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिटामोल अभाव नगराउन र उत्पादन बढाउन उद्योगी तथा आयातकर्ताहरूलाई निर्देशन दिएको थियो । 

जब महामारी तब सिटामोल अभाव

सरकारले पारासिटामोलसहित ९८ वटा औषधिलाई सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट निस्शुल्क वितरण गर्नुपर्ने सूचीमा राखेको छ । तर, कतिपय ठूला अस्पतालहरूमा समेत सिटामोल शुल्क तिरेर लिनुपर्ने अवस्था छ । त्यसमाथि जब कोभिड–१९ डेंगीजस्ता महामारीजन्य रोगहरूको प्रकोप फैलिन्छ तब बजारमा सिटामोलको अभाव खड्किन्छ ।  

निजी उद्योगबाट मात्रै वार्षिक सात करोड ट्याब्लेट सिटामोल बजारमा जाने गरेको छ । पछिल्लोपटक डेंगी बढेसँगै सिटामोलको माग एक सातामा ३० लाख ट्याब्लेटसम्म बढेको नेपाल औषधि उत्पादक संघको तथ्यांक छ । नेपाल औषधि लिमिटेडले ५०० एमजीसम्मको सिटामोल उत्पादन गर्दै आएको छ ।

निजी क्षेत्रबाट २९ वटा कम्पनीले पारासिटामोल उत्पादनको अनुमति लिएका छन् । तीमध्ये २१ वटाले सिटामोलका विभिन्न प्रकारहरू उत्पादन गर्दै आएका छन् । तीमध्ये २१ वटा कम्पनीले नेपाली कम्पनीले उत्पादन गरिरहेका छन्, यसले बजारको ९९ प्रतिशत माग धान्ने गरेको छ । 

१५ वर्षदेखि सिटामोलको मूल्य बढाउन माग 

कच्चा पदार्थको मूल्य बढेसँगै सिटामोलको मूल्य समायोजन गर्न १५ वर्षदेखि सरोकारवालाहरूले माग उठाउँदै आएका छन् । नेपाल औषधि उत्पादक संघका अनुसार गतवर्ष सात करोड ट्याब्लेट सिटामोल उत्पादन गरी बजारमा पठाइएको थियो । यो वर्ष डेंगी संक्रमण बढेसँगै बजारमा सिटामोलको माग बढेको छ ।

अहिलेको मागलाई यो मात्राले पनि धान्न सक्ने अवस्था देखिएको संघका महासचिव विप्लव अधिकारी बताउँछन् । उनका अनुसार अहिलेको अवस्थामा उद्योगहरूलाई मात्रा बढाएर उत्पादन गर भन्नसक्ने अवस्थामा छैन । नेपाली उद्योगहरूले पहिले नै घाटामा गएर पारासिटामोल उत्पादन गरिरहेका छन् ।

कच्चा पदार्थदेखि बजारमा पठाउन तयार चक्की बनाउँदासम्मको शुल्क एक रुपैयाँ तीस पैसा पर्न आउँछ तर सरकारले तोकेको मूल्यअनुसार उत्पादकले ७३ देखि ७४ पैसा मात्रै पाइरहेका छन् ।

“नेपालमा वार्षिक पाँच लाखदेखि तीन करोड ट्याब्लेटसम्म सिटामोल उत्पादन गर्ने कम्पनी छन् । उनीहरूलाई यति ठूलो घाटा ब्यहोरेर उत्पादन बढाउ कसरी भन्ने ?,” अधिकारी प्रश्न गर्छन् ।

अधिकारीका अनुसार सरकारी मूल्यकै कारण उद्योहरू कच्चा पदार्थ लामो समय भण्डारण गरेर सिटामोल उत्पादन गर्ने क्षमतामा छैनन् । उनीले कि सरकारले कच्चा पदार्थको जिम्मा लिनुपर्ने अन्यथा मूल्यवृद्धि गर्नुपर्ने बताए । सिटामोलको मूल्यवृद्धिलाई राजतीनिकरण गरी २०६३ सालदेखि मूल्य समायोजन नगरिएको उनको आरोप छ । 

तत्काल सिटामोलको मूल्य बढाउने  मुडमा छैन सरकार 

नेपालमा ६५० एमजी ९मिलिग्राम० को सिटामोल उत्पादनका लागि तीनवटा कम्पनीले अनुमति पाइसकेका छन् । त्यसको मूल्य कति रहने र कति मात्रामा उत्पादन गर्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।

योसँगै ५०० एमजी सिटामोलको बजारमूल्य कम्तीमा दुई रुपैयाँ प्रतिचक्की हुनपर्ने उद्योगीले माग उठाउँदै आएका छन् । औषधि सल्लाहकार समिति र औषधि व्यवस्था विभागमासमेत पटक पटक यो विषयमा छलफल हुँदै आएको छ । तर, अहिलेलाई मूल्य बढाउने विषयमा छलफल नभएको स्वास्थ्य सचिव डा. रोशन पोखरेल बताउँछन् ।

“अहिले मूल्य समायोजनाबारे कुरा भएको छैन । बजारमा अभाव नगर्न र सिटामोलको उत्पादन बढाउन उद्योगी, विक्रेता लगायत सबैलाई मन्त्रीस्तरीय निर्देशन दिइएको छ,” डा. पोखरेलले भने । बाह्रखरीबाट