तेह्रथुमः हालै तेह्रथुमको सदरमुकाम म्याङलुङमा कवि गोष्ठी तथा अनप्लग कविता साँझ नामक साहित्यिक कार्यक्रम भयो । कार्यक्रमको स्थानीय समन्वयकर्ता र आयोजक थियो तेह्रथुम साहित्य प्रतिष्ठान ।

मंसिर २८ गते शुक्रबारका दिन आयोजना गरिएको कार्यक्रममा आयोजकले स्थानीयहरूलाई निमन्त्रणा गर्यो । प्रतिष्ठानका अध्यक्ष दीपक कट्टेलले निमन्त्रणा दिँदा आएका केही प्रश्नहरूले भने कट्टेल अवाक् बने । साहित्यिक कार्यक्रमको निम्ता दिँदा आफूलाई आएका प्रश्न सुनाउदै कट्टेलले भने, ‘मासुभात र भत्ता छ भनेर धेरैले भने ।’

शुक्रबारको कार्यक्रममा एक दर्जन बढी साहित्यकार र अन्य तीन दर्जन हाराहारी स्थानीयहरू आएका थिए । कार्यक्रम तेह्रथुम उद्योग वाणिज्य सङ्घको भवनमा भएको थियो । आफूले मासु र भत्ता दिन नसके पनि सामान्य खाजा भने खुवाएको कट्टेलले बताए ।

साहित्यिक कार्यक्रममा सर्वसाधारण आउन पनि भत्ता र मासुभात माग्नुमा विभिन्न एनजिओ र आइएनजिओले बानी बिगारेर बनेको संस्कृति भएको कट्टेल बताउँछन् । उनी भन्छन्, ‘कार्यक्रम भन्नेबित्तिकै दाताको पैसामा गरिएको भन्ने बुझाइ देखिन थालेको छ ।’