बेरूतः लेबनानले मासिक १५ हजार सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने योजना सुरु गरेको छ ।

लेबनानले हिजो शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि फर्काउने योजना कार्यान्वयन गर्न थालेको एलनाशरा अनलाइन पत्रिका जनाएको छ । घर फर्कन चाहने सिरियाली शरणार्थीलाई सिरियाली सरकारले पठाएको बसमार्फत ढुवानी गरिने एल्नाशराले बताएको छ । यो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेड क्रसको सहकार्यमा गरिनेछ । उनीहरूलाई संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको निगरानीमा लेबनान र सिरियाबीचको मस्नाआ क्षेत्रमा लगिनेछ ।

एल्नाशराका अनुसार शरणार्थीसहितको पहिलो टोली १० दिनभित्र प्रस्थान गर्ने योजना छ । “यदि कुनै अवरोध उत्पन्न भएन भने निर्देशनालयले करिब एक वर्षभित्र दुई लाख सिरियालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सक्छ,” विज्ञप्तिमा भनिएको छ । जुलाई ४ मा लेबनानका शरणार्थी मामिला मन्त्री इसाम चाराफेद्दीनले लेबनान सरकारले मासिक रूपमा १५ हजार विस्थापित सिरियालीहरूलाई उनीहरूको मातृभूमिमा फर्काउने बताए । 

लेबनानी अधिकारीहरूले लेबनानले यस विषयमा अन्तर्राष्ट्रिय स्थितिको परवाह नगरी आफ्नो योजना कार्यान्वयन गर्ने बताएका छन् । शरणार्थीहरूको उल्लेखनीय सङ्ख्याको उपस्थितिले देशको अर्थव्यवस्थामा ठूलो असर पारेको छ र यो समस्यालाई थप जटिल हुन नदिन विस्थापित सिरियालीलाई स्वदेश फिर्ता गर्नु बिलम्ब गर्न नहुने उनले बताए । जनसङ्ख्याको हिसाबले हेर्दा विश्वको सबैभन्दा धेरै शरणार्थीहरूलाई लेबनानको आश्रय दिएको छ । त्यहाँ १५ लाख सिरियाली शरणार्थीहरू रहेको सरकारको अनुमान छ । -रासस/सिन्ह्वा