इटहरीः आज प्रदेश १ र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 अहिले देशभर सामान्य बदली रही  सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको पनि सो महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । 

महाशाखाका  अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असोज ४ गते मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।