बेलबारीः शुक्रबार मध्याह्न्नदेखि बेलबारीको माहोल साहित्यमय बनेको छ । नेपाल र भारतका चर्चित साहित्यकारको जमघटले बेलबारी–४ मा रहेको बेतना सिमसार र बेलबारी–५ मा रहेको धनपालगढी शुक्रबार र शनिबार स्रष्टामय बनेको हो ।

स्रष्टा समाज बेलबारीको निमन्त्रणमा आएका साहित्यकार पाहुनाहरूलाई स्वागत गर्न स्रष्टा समाज तथा जनप्रतिनिधहरूले भक्कादेखि गुन्द्रुकको अचारसमेत खुवाएका छन् ।

शनिबार बिहान करिब ७ बजेतिर बेलबारी–५ मा रहेको धनपालगढीमा पुगेका साहित्यकारहरूलाई स्थानीय बासिन्दा तथा वडाका जनप्रतिनिधिहरूले भक्का र चिया खुवाएका थिए । नुन, खुर्सानी र धनियाँको अचारसहितको भक्काले धनपालगढीको विकास तथा प्रचारप्रसार हुने विश्वाससमेत आयोजकले गरेको छ ।

दिउँसो बेलबारी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा अतिथिहरूलाई रोटी र गुन्द्रुकको अचार र तरकारीे टपरीमा दिइएकाले झन् सबैको आँखा त्यसैमा परेको छ । साहित्यकारहरू मनप्रसाद सुब्बा, सुजनहाङ, राजकुमार तिम्सिना, डा. राजकुमार क्षेत्री, अमर बानियाँ ‘लोहोरो’, देवराज शर्मा, मेहरमान सुब्बा, रेमिका थापा, जयकुमार राई, मुक्तिनाथ शर्मा, कैलाश पाण्डे समेतका चर्चित नेपालीभाषी भारतीय साहित्यकार कार्यक्रममा उपस्थित थिए ।

छिमेकी राष्ट्र भारतका साथै नेपालका पोखरा र काठमाडौंदेखि आएका साहित्यकारका साथै १ नम्बर प्रदेशका ७० जना भन्दा बढी साहित्यकार बेलबारीमा आएको आयोजक स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङले बताए ।

२ दिनमा ५ दर्जनभन्दा बढी साहित्यकारले आफना सिर्जना प्रस्तुत गरेको समेत उनले बताए ।