बेलबारीः  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देशमा सङ्घीयता आइसकेकाले काठमाडांैमा बस्ने मात्रै ठुला साहित्यकार नहुने बताएका छन् ।

मोरङको बेलबारीमा आज ‘गाउँबेंसीका फूलहरू’ नामक त्रैमासिक साहित्यिक पत्रिकाको विमोचन गर्दै उनले साहित्यिक सिर्जनाका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाइरहेको र त्यसका लागि भूगोलले फरक नपार्ने तर्क गरेका हुन् ।

‘साहित्यकार र कलाकारका काँधमा मुलुकको ठूलो दायित्व र जिम्मेवारी छ,’ उनले भने । उनले शान्ति र समृद्धिको यात्रामा सरकारलाई सहयोग पुग्ने गरी काम गर्नुपर्ने बताए । मुलुकलाई दरिलो बनाउन साहित्य र कला क्षेत्रबाट सरकारलाई सकारात्मक खबरदारी गर्नुपर्नेमा उप्रेतीको जोड थियो ।

‘साहित्यकारले सधैँ सकारात्मक सोच र निष्कर्षसहित आफ्ना सिर्जनालाई तिखार्न सक्नुपर्छ, सरकारलाई असहयोग गर्ने नाममा मुलुकलाई सङ्क्रमणतर्फ धकेल्ने खालका विषय उठान गर्नु जायज हुँदैन,’ उनको भनाइ थियो ।

उप्रेतीले राष्ट्रिय एकता, अखण्डता र मुलुकको सार्वभौमिकताका लागि साहित्यकारको भूमिका महत्वपूर्ण हुने धारणा राखे । सकारात्मक सन्देश दिने खालका साहित्य सिर्जना गरेमा त्यसले भविष्यसम्म मुलुकलाई टेवा पुगिरहने बताए ।