इटहरीः मोरङको मिक्लाजुङ–१ मा रहेको टाँडी माध्यमिक विद्यालयमा पुस्तकालयको उद्घाटन गरिएको छ । साहित्यकार तथा टाँडी माविका पूर्व विद्यार्थी हेमन यात्रीको सक्रियतामा पुस्तकालय स्थापना गरिएको बताइएको छ । राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुस्तकालय उद्घाटन तथा मिक्लाजुङ गाउँपालिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि व्याकुल माइलाले विश्वका सबै मानिस अध्ययन गरेर शक्तिशाली भएको बताउँदै निरन्तर पुस्तक अध्ययन गर्नुपर्ने बताए । आफू पढेको विद्यालयमा सहयोग गर्ने काम अनुकरणीय भएको भन्दै उनले पुस्तकालय स्थापनामा भूमिका खेल्ने कवि हेमनयात्रीको कामको उनले प्रशंसा गरेका थिए ।

कार्यक्रममा कवि मनु मञ्जिलले आफैँबाट पढ्ने बानीको बिकास गर्नुपर्ने बताएका थिए । विद्यालयका किताबभन्दा पनि अन्य पुस्तक पढ्न जोड दिँदै मञ्जिलले दिनको ३० पेज किताब पढ्ने बानीको विकास गर्न सके जीवन सार्थक हुने बताए । शिक्षकले विद्यालयको किताब मात्रै पढाउनुभन्दा पनि विद्यार्थीलाई सधैँ आफूभन्दा अगाडि पुर्याउनका लागि प्रेरित गर्नुपर्ने बताए । विद्यार्थीले विद्यालयको पाठ्यपुस्तक मात्रै नभएर अन्य पुस्तक पनि पढ्नुपर्ने उनले बताए ।

पुस्तकालय स्थापनामा सक्रिय सो विद्यालयका पूर्व विद्यार्थी कवि हेमन यात्रीले २ हजार बढी पुस्तकहरु सङ्कलन गरी पुस्तकालय स्थापना गरिएको बताए । करीब ६ लाख रुपैयाँ मूल्यका किताब सो पुस्तकालयमा रहेको यात्रीले बताए ।

कार्यक्रममा सञ्जीव राई, प्रकाश थाम्सुहाङ, सुन्दर कुरूप र देवान किराँतीले कविता वाचन गरेका थिए । स्थानीय गायक नितेश राईले गीत गाएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृतकुमार राई, कार्यक्रम संयोजक पर्वत राई, मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी लगायतले आफ्ना धारणा राखेका थिए ।

सोही कार्यक्रमको अवसर पारेर अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा अनुरा पौडेल, सुवासना राई, सुस्मिता राई र नलिना बास्तोलाले क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हात पारेका थिए । उनीहरूले क्रमश ५ हजार, ३ हजार, १ हजार र ५ सय रुपैयाँसहित प्रमाणपत्र हात पारेका थिए ।

miklajung pustakalaya  (2) miklajung pustakalaya  (1)