बेलबारीः बेलबारीमा भएको साहित्यिक जमघटले बेलबारीलाई साहित्यमय बनाएको छ । बेलबारी स्रष्टा समाजले गरेको कार्यक्रममा आएका स्रष्टाले सिर्जना वाचन गर्नुका साथै पर्यटकीय प्रवद्र्धनमा सहयोग गरेका थिए ।

बेलबारीको प्रसिद्ध बेतना सिमसारदेखि शुरु भएको साहित्यिक कार्यक्रमले बेलबारीका साथै सुन्दरहरैंचा र इटहरीलाई पनि साहित्यमय बनाउने बताइएको छ । बेलबारी नगरपालिकामा रहेका पर्यटकीय र पुरातात्विक महत्व बोकेका स्थलमा भएको साहित्यिक जमघटले बेलबारीलाई साहित्यमय बनाएको हो ।

नेपाल र भारतका साहित्यकारको जमघट
नेपाल र भारतका चर्चित साहित्यकारको जमघटले बेलबारी–४ मा रहेको बेतना सिमसार र बेलबारी–५ मा रहेको धनपालगढी शुक्रबार र शनिबार स्रष्टामय बनेको हो । साहित्यकारले सुन्दरहरैंचाको गोकुलम रिसोर्ट र इटहरीको ओसियन पार्क लगायतका पर्यटकीय स्थलको पनि अवलोकन गरे ।

पर्यटकीय एवम् पुरातात्विक महत्व बोकेका स्थलमा भएको साहित्यिक उपस्थितिले पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने बेलबारीका साहित्यप्रेमी प्रताप थापाले बताए । साहित्यिक विवेचना र कवि गोष्ठीमा भाग लिन भारतका सिक्किम, दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी लगायतका क्षेत्रबाट साहित्यकार बेलबारी आएका थिए । स्रष्टा समाज बेलबारीका अध्यक्ष एवं पूर्व सांसद हर्कमान तामाङले कला साहित्यको जगेर्ना र दुई देशबीचको साहित्य सिर्जनाका बारेमा जानकारी साटासाट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

साहित्य क्षेत्रको विषयमा २ देशबीच रहेको अन्तरविरोधका विषयमा पनि छलफल गरिने उनले बताए । उनका अनुसार नेपाल र भारतमा वर्तमान नेपाली साहित्यको अवस्थाका बारेमा दुई देशका साहित्यकारबीच चर्चा समेत भएको छ । कार्यक्रममा भारतीय भूमिमा बसेर पनि त्यहाँका साहित्यकारले नेपाली साहित्य सिर्जनाको विकासमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरिएको उनले जानकारी दिए ।

आचार्यको कविता पोखरेलले वाचन गर्दा मन्त्रमुग्ध
कार्यक्रममा नेपालीभाषी प्रवासी साहित्यकारको सम्मान, स्वागत र सद्भावमा बेतना सिमसारमा वाचन गरिएको कविताले सबैको मन छोएको थियो । साहित्यकार अमृत आचार्य (आचार्य अ) ले रचना गरेको ‘सीमाबाहिरका नेपालीहरूसँग’ शीर्षकको छन्द कविता साहित्यकार सुमित्रा पोखरेलले वाचन गर्दा सबै मन्त्रमुग्ध बनेका थिए ।

‘आफ्नो देश हुँदाहुँदै पनि तिमी केले पर्याै बाहिर,
भाषा, भेष, कला र संस्कृति सबै छन् उत्तिकै आखिर’
भनेर प्रवासी साहित्यकारलाई लक्षित गर्दै पोखरेलले शुरु गरेको कविताले भारतका नेपालीभाषी साहित्यकारको मन चस्काएको थियो । कविताले उनीहरूलाई आफूहरू साँच्चिकै नेपाली हुँदाहुँदै विभिन्न कालखण्डमा परिस्थितिले सीमापारको बन्नुपरेको भान गराएको थियो ।

कार्यक्रममा मनप्रसाद सुब्बा, सुजनहाङ, राजकुमार तिम्सिना, डा. राजकुमार क्षेत्री, अमर बानिया ‘लोहोरो’, देवराज शर्मा, मेहरमान सुब्बा, रेमिका थापा, जयकुमार राई, मुक्तिनाथ शर्मा, कैलाश पाण्डे समेतका चर्चित नेपालीभाषी भारतीय साहित्यकार उपस्थित थिए ।

त्यस्तै, प्राडा सुषमा आचार्य,  प्राडा भीम खतिवडा, डा, रामजी तिमल्सिना, सोम भट्राई, यज्ञराज सुवेदी ‘सुसेली’, जयबहादुर घिमिरे, मैयाँ रनपहेंली, उमा सिँजापती, दीपक ‘शम्चु’, आचार्य अ, गोकुल राई, लक्ष्मी थापा, अनिल पौडेल कार्यक्रममा सहभागी भएका थिए ।

रेखा सुवेदी, बद्री अधिकारी, जयन्ता पोखरेल, बिन्दु दाहाल ‘मूकदर्शक’, मिश्रा वैजयन्त्री, सरोज दर्नाल, देवी वैरागी घिमिरे आदि नेपाली साहित्यकारको कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा सहभागी साहित्यकारले आआफ्ना रचना वाचन गरेका थिए । भारतबाट आएका नेपालीभाषी साहित्यकारले नेपाली भूमि र नेपाली माटोको सम्मानमा आफ्ना सिर्जना वाचन गर्दा नेपाली साहित्यकारमा थप ऊर्जा थपिएको भान हुन्थ्यो । उनीहरूका सिर्जनाले शान्तिका दूत गौतम बुद्ध नेपालमै जन्मिएको भनी प्रष्ट्याउने काम पनि गरेको थियो । जसले जहाँबाट दाबी गरे पनि बुद्ध नेपालमै जन्मिएको र नेपाललाई शान्तिभूमिका रूपमा विश्वमा चिनाउनुपर्नेमा नेपालीभाषी भारतीय साहित्यकारको जोड थियो ।

नेपाली साहित्यकारले माया, प्रेम, मुलुकले भोगिरहेका समस्या, समसामयिक राजनीतिक परिवेश, छिमेकी मुलुकबाट सहनु परिरहेको थिचोमिचो, नेपाल र भारतबीचको साहित्यिक सम्बन्ध लगायतलाई उजागर गर्ने हिसावले तयार पारेका सिर्जना सुनाएका थिए ।

स्थानीय सरकारले साहित्यको क्षेत्रमा सहयोग गर्नेः मेयर सुवेदी
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले कला साहित्य समाजको वास्तविक पहिचान भएकाले साहित्यकारका कलम स्पष्ट र प्रभावकारी हुनु पर्नेमा जोड दिए । साहित्य समाजलाई बाटो देखाउने, उज्यालोतर्फ, सभ्यतातिर र सुव्यवस्थातिर जान उत्प्रेरित गर्ने विषय भएकाले यसको विकासमा स्थानीय सरकारका तर्फबाट सबै हिसाबले सहयोग गरिने बताए । सामाजिक चिन्तन र चेतनाको यथोचित विकासमा अहिलेको साहित्य सिर्जनाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

belbari sahityik karyakram  (3) belbari sahityik karyakram  (1)