सुनसरीः सधै अरुको क्षेत्रबाट निर्वाचित हुँदै आएको एमाले स्थायी कमिटी सदस्य भीम आचार्य यसपटक आफ्नै गृहक्षेत्र क्षेत्र नम्बर २बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजनामा रहेका छन् ।
उनी यसअघि उम्मेदवार बनेको सुनसरी क्षेत्र नम्बर १ बाट स्थानीय नेता सर्वसम्मतिका साथ सिफारिस भएपछि त्यहाँबाट आउट भएका आचार्यसँग अब आफ्नो गृहक्षेत्रबाट निर्वाचनमा उम्मेदवार बन्नुको विकल्प देखिँदैन ।
तर उनको उम्मेदवारी त्यती सहज भने देखिँदैन । कुनै बेला आचार्यकै नजिकका कार्यकर्ता मानिने अहिलेका जिल्ला अध्यक्ष रेवती रमण भण्डारी अघिल्लो निर्वाचनमा टिकट नपाएपछि आचार्यका कटु आलोचकका रुपमा देखिएका छन् ।
उनी भीम आचार्यलाई मुख्यमन्त्रीको दौडबाट रोक्ने मात्रै होइन, विभिन्न सञ्चारमाध्यमको उपभोग गरेर आचार्य विरुद्धका समाचारहरु समेत प्रकाशन, प्रशारण गर्दै आएका छन् ।
समग्रमा भण्डारी अहिलेको अवस्थामा पार्टीभित्र आचार्यका सबैभन्दा कटु आलोचकको रुपमा रहेका छन् । यस्तो अवस्थामा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आचार्यसँगै भण्डारीको समेत नाम सिफारिस भएको छ । उनीहरू सहित अन्य नेताहरू पनि सिफारिसमा परेका छन् ।
तथापि एमालेले दुईमध्ये एकलाई टिकट दिने सम्भावना बलियो छ । हुन त त्यहाँ अर्का प्रभावशाली नेता खेमराज पोखरेलको पनि टिकटको दावी छ । विगतमा पनि उनले एमालेको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिँदै आएका थिए ।
तर उनले आचार्यको उम्मेदवारीमा समर्थन गर्ने सम्भावना बढी रहेकोले आचार्य र भण्डारीबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । नेकपा विभाजनसँगै एमाले पनि विभाजित हुन पुग्यो । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा नलागी आचार्य मुख्यमन्त्री बन्ने भएपछि एमालेमै रहे ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएर आचार्यलाई दलको नेता बताए । प्रदेशसभाको ठूलो दलको हैसियतले उनले सरकार बनाए । विश्वासको मत लिन नसकेपछि उनको मुख्यमन्त्री पद खुस्कियो । अहिले पनि उनी संसदीय दलको नेताको हैसियतमा छन् । एमाले स्थायी कमिटी सदस्य तथा पर्यटन विभाग प्रमुख रहेका उनीसँगै जिल्ला अध्यक्ष रेवती रमण भण्डारी टिकटको प्रतिस्पर्धामा छन् ।
भण्डारी यसअघि २०५६ मा विजय कुमार गच्छदारसँग पराजित भएका थिए । २०७० को निर्वाचनमा सुनसरी २ बाट विजयी भएका उनी पुनः सोही क्षेत्रबाट निर्वाचित हुने दाउमा छन् ।
नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र खेमराज पोखरेल भण्डारी उम्मेदवार भए खुलेरै असहयोग गर्ने पक्षमा छन् । आचार्यसँग निकट पोखरेल र चौधरी भण्डारीलाई स्वीकार गर्ने पक्षमा छैनन् ।
२०७८ पुषमा सम्पन्न एमाले जिल्ला अधिवेशनमा चौधरी र पोखरेल भण्डारीसँग पराजित भएका थिए । भण्डारी यसअघि पनि एमाले सुनसरी अध्यक्षको जिम्मेवारीमा थिए । २०७४ को निर्वाचनमा टिकट नपाएपछि उनी भीम आचार्यसँग रुष्ट भए ।
भीम आचार्यविरुद्ध सामाजिक सञ्जालमै अभिव्यक्ति दिएका उनले संसदीय दलको नेतामा पराजित गर्न शेरधन राईलाई खुलेरै सहयोग गरे । यसलेपनि आचार्यसँगको उनको सम्बन्धमा तिक्तता आयो ।
२०७४ को स्थानीय निर्वाचनमा आचार्यले पैसा लिएर टिकट बाढेको भण्डारीले आरोप लगाए । आचार्यले कुनै प्रतिक्रिया नदिएपछि माहौल सहज बन्दै गयो । पछिल्लो समय एउटै निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका दुई नेताहरू अहिले टिकटको होडबाजीमा छन् ।
दोस्रो पटक जिल्ला अध्यक्ष भएका भण्डारीलाई नेकपा एमालेको साख फर्काउनुपर्ने चुनौती छ । आफैले टिकट पाउनु र विजयी हुनु उनको राजनैतिक प्रतिष्ठाको विषय बनेको छ ।
संविधानसभा सदस्य समेत रहेका उनी इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखीको सञ्चालक समिति अध्यक्षसमेत हुन उनी ।
हाल एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी २ महिना पूरा भएको छ । तथापि भण्डारीले समस्याको हल निकाल्न सकेका छैनन् । यसले उनको पार्टी भित्रै आलोचना सुरु भएको छ ।
यस्तो विषयमा आचार्य र भण्डारी जसले टिकट पाएपनि पार्टीभित्र अन्तर्घात हुने खतरा देखिन्छ । आचार्यले पाउँदा हिजोदेखि नै कटु आलोचकका रुपमा रहँदै आएका भण्डारीले सहयोग गर्ने मनस्थिति अहिलेसम्म देखिँदैन भने भण्डारीले पाउँदा पार्टीका प्रभावशाली नेता जिम्मेवारीविहीन बन्दा त्यसले कार्यकर्ता तहमा निराशा बढाउँदा कुनै न कुनै रुपमा एमालेलाई आगामी निर्वाचनमा क्षति हुने देखिन्छ ।
भण्डारी र आचार्य विवादले एमाले कमजोर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्छन् युवा नेता जीवी गजल । दुई नेता बीचको संवादहीनताले आगामी नेतृत्वप्रति वितृष्णा जगाउने उनले बताए ।
एमाले सुनसरीका एक नेताका अनुसार भण्डारी उम्मेदवार भएको अवस्थामा आचार्य समुह र सँस्थापन पक्षका खेमराज पोखरेलले स्वीकार नगर्ने, आचार्य उम्मेदवारको भएको अवश्थामा भण्डारी समुहले उनलाई स्वीकार नगर्ने अवश्था रहेकाले यसपटक सुनसरी २ बाट खेमराज पोखरेल प्रतिनिधिसभा सासंदका उम्मेदवार बन्ने सम्भावना बढी देखिएको छ ।
नेताहरुबीच रचनात्मक प्रतिस्पर्धा जरुरी रहेपनि व्यक्तिगत रिसिइवी र कुण्ठाको लडाइँले आम जनता र कार्यकर्तामा राजनीतिप्रति गलत धारणा विकसित हुने उनको तर्क छ ।
सुनसरी २ का क्षेत्रीय संयोजक राम कोइराला अहिले त्यस्तो कुनै तिक्तता नरहेको बताउँछन् । पहिला केही थियो भन्ने कुराले अहिले कुनै असर नपुग्ने उनले बताए । पार्टी नेताहरू निर्वाचनमा गम्भीर भएर लागेको बताउँदै उनले सुनसरी २ मा एमालेको जित निश्चित रहेको प्रष्ट पारे । दुवै जिम्मेवार नेता भएकाले जसले टिकट पाए पनि एक अर्कामा सहभाव रहने उनको विश्वास छ ।