दैलेखः दैलेख नारायण नगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई नगरपालिकाभित्र रहेका विद्यालयमा बालविकास योजनाबारे जानकारी गराएको छ । 

एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला गरिएको हो ।

नगरप्रमुख, निर्वाचित वडाध्यक्ष, वडासचिव, बालबालिकाका क्षेत्रमा काम गरिरहेका निकायलाई राखेर बालविकास योजनाको प्रभावकारिता, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको भूमिकाका बारेमा छलफल गरिएको छ । 

नगरपालिकाभित्रको शैक्षिक अवस्था सुधार गर्नेबारेमा शैक्षिक रणनीति निर्माण गर्ने तयारी गरेको र सोहीअनुसार विद्यालयका शिक्षक तथा बालबालिकाको शैक्षिकस्तरसँगै पोषण सुधारका काम गर्ने तयारी गरेको नगरप्रमुख लोमन शर्माले जानकारी दिए ।

 नगरपालिका र सेतो गुराँस बालविकास सेवा दैलेखको संयुक्त साझेदारीमा यो अभियान थालनी गरिएको हो ।

बालबालिकालाई गर्भावस्थादेखि जन्मेको आठ वर्षसम्म आवश्यक पर्ने सबैखाले विकासमा कसरी काम गर्न सकिन्छ भन्नेबारेमा जनप्रतिनिधिलाई अभिमुखीकरण गरिएको र योजना निर्माणको तयारी भएको सेतो गुराँस बालविकास सेवाकी निर्देशक राधा मल्लले बताइन् । 

उनले उक्त नगरपालिकाभित्रका ३८ विद्यालयमा शैक्षिक सुधार अभियान सुरू गरिने र सोहीअनुसार बालबालिकालाई पोषणयुक्त आहार, विद्यालयको भौतिक संरचनामा प्रभावकारिता, कक्षाकोठाको व्यवस्थापन, शिक्षासँगै स्वास्थ्य वृद्धि अभियान थालिने बताए । -रासस