इटहरीः प्रदेश १ सहित  देशका विभिन्न भागमा आज बिहानैबाट बर्षा भईहरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

विभागले दैनिक रुपमा प्रकाशन गर्ने मौसम पूर्वाअनुमान बुलेटिका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।  

आज प्रकाशित विभागको बुलेटिन अनुसार दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ । विभागले खोला किनारमा बस्नेहरुलाई सचेत रहन पनि आग्रह गरेको छ । विभागले ३ दिनसम्म देशका केही स्थानमा बर्षा जारी रहन सक्ने अनुमान पनि गरेको छ ।