इटहरीः अञ्जु बीसी इटहरीको लागि नयाँ नाम होइन । बेलबारीको कसेनी मावि बुधबारेमा अध्ययन गरेकी अञ्जु मानवता र परिवर्तनकी पक्षधर महिला हुृन् भन्दा फरक पर्दैन ।
राजनीतिका चर्का भाषण ठोकेर हिँड्ने नेताभन्दा केही फरक स्वभावकी अञ्जु सानैदेखि राजनीतिक चेत भएकी महिला हुन् । ब्राह्मणबाहुल्य समुदायमा जन्मिएकी अञ्जुका बुवा आफैँ गाविसका सचिव भएको हुनाले पनि उनलाई हेपिएको, पछाडि परेको तथा कसैबाट अपहेलित भएको याद छैन । समुदायमा दलित र गैह्रदलितबीच हुने भेदभाव अञ्जुले अनुभव गर्नु परेन । एउटा राजनीतिक चेत भएको शिक्षित परिवारमा हुर्किएको हुनाले पनि अञ्जुले पछाडि हेर्नु परेन ।
पहिलेका उच्च जाति भनिनेहरुको इख लिएपछि अञ्जुका बुवाले एसएलसी सकाएर १५ वर्षको उमेरमै जागिर खाएका थिए । पछि बुवाले दलित कोटाबाट मोरङको जिल्ला सभापतिमा प्रतिस्पर्धा गरे । अञ्जुले पनि केही समय आफू पढेको विद्यालयमै करारमा शिक्षकको जागिर खाइन् । जिम्मेवारी बढ्दै गएपछि केही गर्नुपर्छ भन्ने सोचाइ भएकी उनी कुनै समय कुकको तालिम लिन पुगिन् त कुनै समय पत्रकारिताको तालिम पनि लिन पुगिन् । तर भनेजस्तो र सोचेजस्तो पेसा भएन अथवा भनाँै समयले साथ दिएन । बेलबारीकै राजेश भण्डारीसँग अञ्जुको प्रेम विवाह भयो । २ छोरी र १ छोराकी अभिभावक उनी अहिले इटहरीमा बस्छिन् । माइती पनि अहिले इटहरी १ मै आएका छन् । एक हिसाबले जिन्दगी सहज र सरल भएको छ ।
अहिले अञ्जु आफैँले चलाएको इटहरीको व्यस्त नेसनल गल्लीमा रहेको चिया चौतारीमा व्यस्त हुन्छिन् । उनका श्रीमान राजेश पहिले नेकपा माओवादीका चल्तापुर्जा हुन् । समय फेरिएसँग राजेश र अन्जुले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीतर्फ प्रवेश गरे । जब सुनसरीमा नेकपा एस जन्मिएको थियो, त्यसै बेलादेखि नेकपा एसमा लागेकी अञ्जु अहिले सुनसरी क्षेत्र नम्बर २ (क) को लागि दलित महिलाको कोटाबाट समानुपातिकमा सिफारिस भएकी छन् ।
सिफारिस हुनेहरुको सूची निकै लामो छ । अघिल्लो स्थानीय निकायको निर्वाचनमा समेत इटहरी १ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी अञ्जुले पछि पार्टी भागवण्डाको कुरा नमिलेपछि उम्मेदवारी फिर्ता लिएकी थिइन् । इसाई धर्म अंगालेकी अन्जु अन्तराष्ट्र्रिय प्रार्थना भेलाकी कोषाध्यक्ष हुन् भने राष्ट्रिय महिला सञ्जाल समितिकी अध्यक्षसमेत हुन् । विकास र परिवर्तनका लागि विचार परिवर्तन गर्नुपर्छ, कसैलाई भेदभाव गर्नुहुदैन भन्ने भावना राख्ने अञ्जु एउटी असल श्रीमतीले घरको इज्जत जोगाउनुपर्छ भन्ने भावना राख्छिन् ।
देशमा अझै पनि आमा, दिदीबहिनीहरु पीडामा रहेको र समाजमा अझै पनि धर्मको नाममा, जातको नाममा हुने विभेदहरु कायमै रहेकाले त्यो विभेदको अन्त्यका लागि आफूले काम गरिरहेको र भविष्यमा पनि गरिरहने अञ्जुको भनाइ छ । अनेम संघकी जिल्ला कमिटी सदस्यसमेत रहेकी अञ्जु दलित तथा अन्य जातजातिभित्रै पनि फरक खालको विभेद रहेको बताउँछिन् । कोरोना महामारीको समयमा राहत वितरणलगायत अन्य सामाजिक कार्यमा समेत सक्रिय देखिएकी अञ्जु आफ्नो नाम प्रदेशसभाको लागि समानुपातिकमा जिल्ला कमिटीबाट सिफारिस भएकोमा पार्टीप्रति कृतज्ञ भएको बताउँछिन् ।