इटहरीः अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहको छ ।

प्रदेश १, मधेस, बागमाती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकि प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । साथै, प्रदेश १, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   

आज राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

भोलि मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ का केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, भदौ २२ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । महाशाखाका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।