इटहरीः महिला अधिकारका क्षेत्रमा काम गरिरहेको गैरसरकारी सँस्था मेची महाकाली बुहारी संयुक्त आवाजले तेस्रो वार्षिकउत्सव मनाएको छ । इटहरीको दुर्गा पार्टी प्यालेस्मा एक स्मारोहको आयोजना गरी सँस्थाले तेस्रो जन्मदिन मनाएको हो ।
सो अवसरमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले समयक्रमसँगै नेपाली महिलाको अवस्थामा सुधार हुँदै आएको बताए । एक सय ५० बर्षअघि श्रीमानको मृत्यु भए श्रीमती पनि चितामा जल्नुपर्ने सती प्रथा १९२०सालमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेरले अन्त्य गरेर ठूलो सुधार ल्याएको उनले उल्लेख गरे ।
एक सय ६० बर्षअघि भोजपुरमा जन्मिएकी योगमया न्यौपानेले तत्कालीन समाजिक कुसँस्कारविरुद्ध विद्रोह गर्दै त्यसबेला निषेधित रहेको दोस्रो विवाह गरी महिला मुृिक्तकै लागि आफ्ना समर्थकसहित जलसमाधि लिएको बताउँदै उनले परिवर्तन कसै न कसैबाट सुरु हुनैपर्ने धारणा राखे ।
हालको संविधानले दिएको आरक्षणजस्ता सुविधाबाट राज्यका प्रमुख निकायहरुमा महिलाको सहभागिता बढेको उनको भनाइ थियो ।संस्थाले बाढी, पहिरोजस्ता विपतका समयमा सिन्धुपाल्चोक, रौतहटजस्ता जिल्लामा राहत वितरण गरी जनविश्वास आर्जन गर्न सफल भएको उनको दाबी थियो ।
संस्थाकी केन्द्रीय अध्यक्ष यामु शर्मा सुब्बाले अनलाइनमार्फत् अमेरिकाबाट समारोहलाइ सम्बोधन गर्दै महिलाहरु न्यायिक ढिलासुस्तीको सिकार भइरहेको बताइन् । महिला हिंसा बढिरहेको र यसबाट बुहारीहरु बढी प्रभावित भएको बताउँदै उनले दुई बर्षको अवधिमा आफूहरुले धेरै अपराधीलाइ कारबाहीको दायरामा ल्याएको जिकिर गरिन् ।
समारोहका विशिष्ट अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानले दिएको स्वतन्त्रताको हक अन्तगतको संस्था खोल्न पाउने हक प्रयोग गरी खुलेको यो सँस्थाले महिलाका मुद्दामा सामुहिक प्रतिवाद गरिरहेको उल्लेख गरे ।
नेपालको पाँचौँ संविधानका रुपमा रहेको २०४७ सालको संविधानले महिलाका अधिकारको प्रत्याभूति गरेको बताउँदै उनले हालको संविधानले पनि राष्ट्रपति वा उपराष्ट्रपतिमा एक महिला, पालिकाका प्रमुख र उपप्रमुखमा एक महिला र उपभोक्ता समितिमा एक तिहाइ महिला अनिवार्य गरी महिलालाइ सशक्तता दिइरहेको उल्लेख गरे ।
सँस्थाकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेको सभापतित्वमा सम्पन्न समारोहमा सँस्थाकै विभिन्न शाखाहरुलाइ विभिन्न विधामा उत्कृष्ठ घोषित गरी अवार्डसमेत वितरण गरिएको थियो ।