तेह्रथुमः झापाको साहित्य संस्था नेपाल लिटरेरी गु्रपको १८ औं कविता शृङ्खला ‘अनप्लग कविता साँझ’ आज तेह्रथुमको सदरमुकाम म्याङलुङमा हँुदैछ । आजको शृङ्खलामा धरानका कवि तथा पत्रकार प्रदीप मेन्याङ्बो, झापा शिवसताक्षीका कवि तथा साहित्य अभियन्ता विराट किराँती र तेह्रथुमको म्याङलुङमा बसेर कविता लेख्दै आएका कवि तथा पत्रकार दीपक कट्टेल ‘आयाम’को कविता वाचन हुँदैछ । उनीहरूले ५÷५ वटा कविता वाचन गर्नेछन् ।

उद्योग वाणिज्य सङ्घ तेह्रथुमको सेमिनार हलमा हुने कार्यक्रममा साङ्गीतिक कविता वाचन हुने भएको हो । तेह्रथुम साहित्य प्रतिष्ठानसँगको सहकार्यमा हुने कार्यक्रमपछि प्रदेश स्तरीय कविता वाचन हुने तेह्रथुम साहित्य प्रतिष्ठानका सचिव प्रकाश धौलाकोटीले बताए । कार्यक्रमको लागि झापा, मोरङ, सुनसरी, धनकुटा देखिका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेकोे छ ।