इटहरीः प्रदेश १ सहित देशभरका नदीनालाहरुमा आज पानीको बहाव उच्च हुने देखिएको छ ।

नारायणी, बूढीगण्डकी, मर्स्याङ्दी,सेती, कालीगण्डकी, कन्काई, कमला, वाग्मती र पूर्वी राप्ती नदीको बहाव उच्च हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसका साथै अन्य केही ठूला नदीहरूमा समेत सामान्य बहाव बढ्ने महाशाखाको भनाइ छ । आज बहाव बढ्न सक्ने सभ्मावित नदीहरुमा

उदयपुर, सिन्धुली, मकवानपुर, बारा, पर्सा, चितवन, धादिङ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, गुल्मी, अर्घाखाँची, पाल्पा र आसपास भई बहने नदीहरुसमेत रहेका छन् ।

यस्तै, रौतहट, सर्लाही, महोत्तरी, र आसपास भई बहने साना नदीहरूको बहाव पनि आज उच्च नै रहने महाशाखाको पूर्वानुमान छ । नदीको बहाव बढी बाढी आउन सक्ने र धनजनको क्षति गर्नसक्ने हुँदा सतर्कता अपनाउन विभागले सर्वसाधारणमा अपिल गरेको छ ।