इटहरीः नेपाली समाजमा महिला न्यायको लागि विद्रोहको बाटो रोज्ने महिलाको रुपमा चिनिएकी योगमाया न्यौपानेलाई पहिलो पटक इटहरीमा आयोजित एक कार्यक्रममा उपहारको चिनोका रुपमा सजाइएको छ ।
महिला अधिकारका ऐतिहासिक काम गरेकी विद्रोही महिला योगमायालाई महिला आधारशीला सुनसरीले शनिबार इटहरीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मायाको चिनोको रुपमा सजाइएको हो । १९२४ सालमा भोजपुरको तत्कालीन सिम्लेमा जन्मिएकी योगमाया महिला अधिकारको लागि घरपरिवार र आफ्नो ज्यानलाई समेत आहुति दिन तयार हुने महिला ह’न् । ७ वर्षको उमेरमै विवाह भएकी योगमाया विवाह गरेको २ वर्षमै विधवा भएकी थिइन् । घरमा हुने हेला, समाजबाट हुने तिरष्कारको विरुद्ध खरो रुपमा लडेकी योगमायाले अध्यात्मको लागि आसाममा पुगेर अध्ययन गरेकी थिइन् ।
अधात्मको ज्ञान, योग, साधाना र तपस्यामा अभिप्रेरित योगमायाले सबै प्रकारका मोहबाट टाढा भएर समाज सुधारमा योगदान दिएकी छन् । लैङ्गिक विभेद, बालविवाह तथा सति प्रथाको विरोधीको रुपमा चिनिएकी योगमायाले छुवाछुतलाई ठ”लो अपराधको रुपमा लिने गरेको इतिहास छ ।
दास प्रथाको विरोध गर्ने योगमायाले दास प्रथाको अन्त्य हुँदा योगमायाले चन्द्र समशेरको खुलेर प्रशंसा गरेकी थिइन् । सत्य धर्मको भिक्षा माग्ने योगमायाले बारम्बार सरकारबाट आश्वासन पाएपनि आश्वासन कार्यान्वयनमा नआएपछि अग्निसमाधीको योजनामा रहेकी थिइन् । २४० भन्दा बढी भक्तजनसहित अग्नि समाधीका लागि तयार रहेी योगमाया र उनका भक्तजनलाई भोजपुरको एउटा ठाउँमा बन्दी बनाइएको थियो । यो एउटा ऐतिहासिक, साहसिक र अनौठो प्रकारको घटना थियो ।
१९९८ असार २२ गते आफ्ना ६८ जना परम भक्तजनसहित अधर्मको अन्त्य होस्, धर्म राज्य स्थापना होस् र मुक्तिको द्वार खुलोस् भन्दै अरुण नदीमा जलसमाधी लिएकी थिइन् । ‘योगमायाले महिला मुक्तिको लागि पढ्न पाउनुपर्छ भन्दै आन्दोलन गरिन् । घरपरिवारबाट अपहेलित भएर पनि आन्दोलन गर्दै आइन् । महिलाहरुलाई पनि हिम्मत होस् भन्ने हिसाबले महिला आधारशीला सुनसरीले योगमायालाई मायाको चिनोमा समेटेको हो ।’ सँस्थाकी सुशीला उप्रेती बताउँछिन् । । योगमायालाई मायाको चिनोमा सजाइएको यो नै नेपालको पहिलो कार्यक्रम भएको उप्रेतीको दाबी छ ।