धरानः नेपालको स्थिर सामाजिक, धार्मिक कट्टर वैचारिक धार र दलित आन्दोलनमा गम्भीर चुनौतीको सवाल विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

बुधबार धरान ९ स्थित होटल रत्न इनमा दलित कल्याण सङ्घले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरुले दलित मुक्तिका लागि राजनीतिक रुपमा विभाजित भएका दलितहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे । कार्यक्रममा १ नं. प्रदेशका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले मुलुकी ऐन आउनुभन्दा पहिले विभेद नभएको बताए । उनले मनुस्मृति प्रकाशित भएपछि धर्ममा विभेद देखिएको बताए । उक्त मनुस्मृतिको आधारमा १९१० मा मुलुकी ऐन बनाई विभेदको सुरुवात गरेको बताए ।

उनले दलित भित्रको विभेदमा पनि १९१० कै मुलुकी ऐनको प्रभाव रहेको बताए । उनले भने, ‘विभेदको कुरा १९१० को मुलुकी ऐनसँग जोडिएको छ ।’ उनले दलितहरु एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राजनीतिक विश्लेषक पदम नेपालीले वर्णवादी व्यवस्थामा विभाजित भएका शुद्रहरुलाई दलित शव्दले एकत्रित गरेको बताए । उनले राजनीतिक दलमा विभाजित दलितहरु एक ठाउँमा नभई गरेका आन्दोलनले परिणाम नआउने बताए । उनले भने, ‘वर्णवादी व्यवस्थाले विभाजित गरी शुद्र भनिएका दलितहरुलाई दलित शव्दले संगठित गरेको छ । दलित आन्दोलनको नाम हो ।’ 

उनले मुक्तिको आन्दोलनका राजनीतिक रुपमा विभाजितहरु सङ्गठित हुनुपर्ने बताए । उनले अहिले आरक्षणको विषयमा आक्रमण हुन थालेको बताउँदै भने, ‘आरक्षण आवश्यक छ ।’ कार्यक्रममा दलित कल्याण सङ्घका अध्यक्ष मोतिलाल नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आन्दोलनले  राजनैतिक, आर्थिक परिवर्तन गरेता पनि दलितको वास्तविक अवस्थामा परिवर्तन नभएको बताए । कार्यक्रममा दलित अधिकारकर्मी दलिबहादुर रामदामले दलितहरु नेता भएपनि नेतृत्व नभएको बताए ।

उनले संविधानमा लेखिएको नियम लागु नहुनुमा सोच विचार र प्रवत्ति कारक बनेको बताए । उनले दलितको अवस्था परिवर्तन नहुनुको कारण पत्ता लगाएको बताए । कार्यक्रम नलेज म्यानेजमेजन्ट फन्टको आर्थिक सहयोगमा भएको थियो । कार्यक्रममा राजनितिक दलका नेता तथा जनप्रतिनिधि,पत्रकार तथा स्थानीय सर्वसाधारणहरुको उपस्थिति थियो ।