कोलम्बोः श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षेले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । 

देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेका हुन् । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएका समाचारमा उल्लेख गरिएको छ । 

श्रीलंकाको तर्फबाट रूसका लागि पूर्वराजदूत उदयाङगा विरातुंगाले उनी अमेरिका जाने तयारीमा रहेका जानकारी दिए । पूर्वराष्ट्रपति गोटावायसँग निकट मानिने विरातुंगाले थाइल्यान्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाएका थिए ।

तर, कानुन व्यवसायीहरूसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलंका फर्किने निर्णयमा पुगेका डेलि मिररले लेखेको छ । उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेका उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षेले अमेरिकाको नागरिकता लिने तयारी गरेकी छन् ।

राजापाक्षे परिवारको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरू प्रयोग गरिएका छन् ।  

मुलुकमा जारी आर्थिकको मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो । सुरुमा म्यानमार गएका उनी त्यसपछि थाइल्याण्ड हुदै सिंगापुर पुगेका थिए । 

राजापाक्षेले देश छोडेपछि श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले संकट समाधानको प्रयास गरिरहेका छन् । -रासस