काठमाडौँः  स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौँमा आयोजना गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका ह’न् ।

उनले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको भन्दै स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरूको कमीकमजोरी देखिएको बताए । मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य अनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको भन्दै सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पुयाउने र बीमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिए ।

‘स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयार छ । स्वास्थ्य बीमा बापतको रकम भुक्तानी नै हुँदैन कि भन्ने चिन्ता छ । त्यो विषयमा चिन्ता लिनुपर्ने आवश्यकता छैन । स्वास्थ्य बीमा राज्यको एउटा कार्यक्रम हो । सरकारी र निजी अस्पतालहरूको बीचमा तल देखिका  कुराहरू सबै सुनेको छु । केके आएका छन् भन्ने कुरामा जानु उपयुक्त हुन्न । 

हाम्रोमा धेरै कमीकमजोरीहरू पनि छन् । निजी अस्पतालहरूले बीमा रकम दाबी गर्ने कुरामा कमजोरी आएका छन् । स्वास्थ्य बीमा गर्नेहरूले पनि बीमा गरेकै छु भन्ने हिसाबले पनि आवश्यकताभन्दा बढी प्रयोग गर्न खोजेको देखिन्छ । स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्यअनुसार सत्य र तथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

सरकारले स्वास्थ्य बीमालाई कसरी व्यवस्थित गरी सबै जनतामा पुयाउन सकिन्छ  अहिले ३५०० तिरेर एक लाखको बीमा गर्ने गरीएको छ । त्यसलाई कसरी वृद्धि गर्ने गरी सबै कुराहरूलाई व्यवस्थित गर्ने गरी विस्तृत रुपमा अध्ययन गरेर सुझाव प्रस्तुत गर्न स्वास्थ्य राज्य मन्त्रीको नेतृत्वमा कार्यदल गठन गरेका छौं ’मन्त्री खापुङले भने ।