इनरुवाः इनरुवा नगरक्षेत्रमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको विद्युतीय हाजिरी प्रणालीबाट दैनिक हाजिरी हुने भएको छ ।

मेयर केदार भण्डारीका अनुसार विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रभावकारी रुपमा परिचालन गरी  शैक्षिक अवस्था सुधार गर्नका लागि प्रशासनिक क्षेत्रको सुधार गर्न खाँचो देखिएकाले विद्युतीय हाजिरी प्रणाली लागु गर्न लागिएको हो ।

मेयर भण्डारीले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधारसँगै प्रविधिमार्फत् शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेकाले सिसीटिभी, विद्युत लाइन जडान, इन्टरनेट सेवासहित विभिन्न सुविधा प्रदान गरिने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले विद्यालयका शिक्षक कर्मचारीले विद्युतीय हाजिरी प्रणाली सुचारु भएपछि विद्यालय समय सुरु भएको १० बजे र विद्यालय समय समाप्त भएपछि ४ बजेको समयमा दुई पटक अनिवार्य हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको बताए ।

प्रशासकीय अधिकृत निरौलाले नगरक्षेत्रमा ३० वटा सामुदायिक विद्यालयमध्ये ८ वटा माध्यमिक तह र २२ वटा निम्न माध्यमिक तहका विद्यालयहरु सञ्चालनमा रहेकाले विद्यालयका प्रधानाध्यापकहरुको भेलाले विद्युतीय हाजिरी प्रणाली लागु गर्ने निर्णय भएको बताए ।

इनरुवा नगरपालिका नगरकार्यपालिकाको कार्यालयले नगरक्षेत्रमा रहेका ३० वटा सामुदायिक विद्यालयलाई विद्युतीय हाजिरी उपकरण जडान गर्नका लागि विद्यालयको खातामा रकम पठाएको हो ।  

नगरपालिकाले प्रतिविद्यालय १७ हजारका दरले यस वर्ष विद्युतीय हाजिरी प्रणालीको उपकरण जडान गरेकोमा थप सफ्टवेयर जडानका लागि यसै वर्ष थप रकम दिने भएको छ ।