किभः युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मुलुकहरूलाई रुसी पर्यटकहरूमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । 

जेलेन्स्कीको यस्तो कदमको क्रेमलिनले अभद्र तरिकाले आलोचना गरेको छ । जेलेन्स्कीले अमेरिकी अखबार दि वासिङ टन पोस्टलाई भनेका छन्, “रुसीहरूले आफ्नो दर्शन परिवर्तन नगरेसम्म उनीहरूलाई आफ्नै संसारमा बाँच्न दिनुपर्दछ । हाल रुसमाथि लगाइएका प्रतिबन्ध भन्दा यस्तो प्रतिबन्ध बढी प्रभावकारी हुन्छ ।”

यो प्रतिबन्ध रुसी एयरलायन्सहरू र क्रेमलिनसँग आबद्ध अधिकारीप्रति लक्षित गरिएको हो । 

रुसीहरूलाई अझैसम्म युरोपेली संघ र अमेरिकी भिसा प्राप्त भइरहेको छ । तर, जेलेन्स्कीको यो आह्वानलाई कमै मात्र समर्थन मिल्ने देखिएको छ । किनभने प्रतिबन्धको बाबजुद रुसको अझै पनि बृहत् विश्वव्यापी व्यापारिक सम्बन्ध रहेको छ भने रुसी पर्यटकहरूलाई इजिप्ट, टर्की, र संयुक्त अरब इमिरेट्स जस्ता मुलुकमा बिदा मनाउन अझै पूरा स्वागत गर्ने गरिएको छ । 

तर, मंगलबार इस्टोनियाका प्रधानमन्त्री काजा काल्लासले ट्विट गर्दै भनेका छन्, “रुसीहरूलाई पयर्टक प्रवेशाज्ञा दिन बन्द गरौँ । युरोप भ्रमण गर्ने भनेको सुविधा हो, यो मानव अधिकारभित्र पर्दैन ।”

गत महिना लात्भियाका विदेशमन्त्री एदगार्स रिन्केभिक्सले पालोटिको वेबसाइटलाई भनेका थिए, “युरोपेली मुलुकहरूले मानवीय कारणमा बाहेक रुसीहरूलाई भिसा दिन कडाइ गर्नुपर्दछ ।”

यसैगरी सोमबार रुसको छिमेकी मुलुक फिनल्यान्डले पनि रुसी पर्यटकहरूलाई कडाई गर्नुपर्ने नीतिको समर्थन गरेको थियो । 

फिनिस प्रधानमन्त्री सान्ना मरिनले राष्ट्रिय प्रसारणकर्ता वाईएलईलाई बताएकी थिइन्, “रुसले युरोपमा निर्मम आक्रमण गरिरहेकै बेला रुसी जनता भने सामान्य जीवन निर्वाह गर्दै युरोपमा पर्यटक भएर घुम्न पाउनु सही होइन ।”

इस्टोनिया र फिनल्यान्डले चाँडै बस्ने ईयूका विदेश मन्त्रीहरूको बैठकमा भिसाको प्रसंग उठाउने आशा गरिएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने जेलेन्स्कीको यो सोचाइ अत्यन्तै नकारात्मक भएको बताएका छन् । -बीबीसीबाट