इलामः डाक्टर गोविन्द केसीले सोमबारदेखि इलामबाट जनतालाई निःशुल्क सेवा दिन सुरू गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरू गरेका हुन् । सोमबारदेखि २० दिनसम्म सेवा दिने उनले बताएका छन् ।

डाक्टर केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरू गरेको बताए । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ ।

सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका डाक्टर केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् ।

डाक्टर केसीले उपचार दिन थालेपछि इलाममा हाडजोर्नीको उपचार गराउन आउने बिरामी बढेका छन् । गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन् ।

डाक्टर केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन् । उनले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिने जनाइएको छ ।

इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए। आवश्यक सहयोगसहित सुरक्षा गार्डकोसमेत व्यवस्था गरिएको उनले बताए । -रासस