टोरोन्टोः एकजना क्यानाडाली किशोरीलाई आत्महत्या गर्न बाध्य हुने गरी मानसिक दवाव दिएको अभियोग लागेका एकजना डच पुरुषलाई ब्रिटिस कोलम्बियास्थित एक अदालतले थुप्रै अभियोगमा दोषी करार गरेको छ । 

४४ वर्षीय आएदिन कोवानविरुद्ध जबर्जस्ती रकम असुली, बालकलाई ललाइफकाइ गरेको, बाल अश्लील सामग्री बनाएको तथा मानसिक दवाव दिएको जस्ता अभियोग लगाइएको थियो । 

त्यतिबेला १५ वर्षकी अमान्डा टोडले सन् २०१२ मा आफूलाई एकजना पुरुषले अनलाइनमार्फत के कति प्रताडना दिए भन्ने विवरण सहितको भिडियो पोस्ट गरेकी थिइन् । करोडौँ पटक हेरिएको त्यो युट्युब भिडियोले अनलाइन प्रताडना विषयमाथि राष्ट्रिय बहस नै सुरु गरेको थियो । 

आफ्नो बिलौना भरिएको भिडियो पोस्ट गरेको मात्र पाँच सातापछि टोडले आत्महत्या गरेकी थिइन् । अनलाइनमार्फत आफ्ना आपत्तिजनक तस्बिरहरू सार्वजनिक गरिएपछि उनले जीवन समाप्त पार्ने निर्णय गरेकी थिइन् । 

इन्टरनेटमार्फत दर्जनौँ महिलालाई तनाव दिएको तथा ब्ल्याकमेल गरेबापत कोवानलाई सन् २०१७ मा एउटा डच अदालतले १७ वर्ष लामो कारावास सजाय सुनाएको थियो । उनको प्रताडनाको शिकार हुने महिलाहरूमा संयुक्त राज्य अमेरिकादेखि बेलायत र क्यानडा सम्मका थिए । 

पछि क्यानडामा सुपुर्दगी गरिएपछि उनीविरुद्ध बाल अश्लील सामग्री वितरण गरेको, जबर्जस्ती पैसा असुली गरेको तथा मानसिक प्रताडना दिएको जस्ता थप अभियोग लगाइएको थियो । 

यद्यपि उनीविरुद्ध टोडको मृत्युको अभियोग भने लगाइएको छैन । सात महिना सम्म चलेको मुद्दाको दौरान दर्जनौँ प्रत्यक्षदर्शी र सरकारी वकिलहरूले ब्रिटिस कोलम्बियामा आफ्नो पितासँग बस्ने टोडलाई कोवानले सामाजिक सञ्जालको २२ वटा नक्कली एकाउन्टमार्फत वषौँदेखि पछ्याएको बताएका छन् । -बीबीसीबाट