काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन् । 

जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताएका हुन् । उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताए ।  

नेपाल र जापानबीचको सम्बन्ध पुरानो रहेको भन्दै उनले १२० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिए । 

नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री प्रचण्डले जापान सरकारलाई विशेष धन्यवाद दिए । दातृ देशका रुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आफ्नो भ्रमणले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । -रासस