काठमाडौँः पर्यटन सँस्कृति तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले खुला संग्रहालयको रूपमा रहेको पशुपति क्षेत्रमा आउने भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुनेगरी थप व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

पशुपति क्षेत्रभित्र पुनर्निर्माण भइरहेको सम्पदाहरुको अवलोकन गर्न शनिबार बिहान पशुपतिनाथ क्षेत्र पुगेका मन्त्री श्रेष्ठले पशुपति क्षेत्र सुरक्षा, संरक्षण र सरसफाइमा ध्यान दिन पशुपति विकास क्षेत्रलाई निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले विभिन्न स्थानमा पुनर्निर्माण भइरहेका सम्पदा स्थल, विश्वरुपा मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तलको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका छन् ।

‘मन्दिरमा झार उम्रेको देख्नेबित्तिकै उखेलेर फाल्नुपर्छ नत्र मन्दिर सबै झारले खाइहाल्छ नि ।’ उनले भने । उनले सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखी यस क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य अघि बढाइरहेको बताए ।