मेक्सिको सिटीः मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेज ओब्राडरले अमेरिकासँगको सीमानालाई आधुनिकीकरण गर्नका लागि सरकारले १ अर्ब ५० करोड अमेरिकी डलर खर्च गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटवार्तापछि उनले सो घोषणा गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा मेक्सिकोका राष्ट्रपतिले भनेका छन्, “अमेरिकी–मेक्सिको सीमानाबाट असंख्य आप्रवासीले सीमा पार गरिरहेकाले यो सम्झौता एउटा साहसिलो कार्यक्रम हो ।“
साथै यी दुई नेताबीच लागुऔषध ओसारप्रसारविरुद्ध लड्ने विषयमा पनि सहमति भएको छ । त्यसअघि बाइडेनले आप्रवासीको बहाव ’विश्वका एक साझा चुनौती’ भएको बताएका थिए । 
बाइडेनले राष्ट्रपति कार्यकाल सम्हालेयता मेक्सिकोसँग जोडिएको दक्षिणी सीमानाबाट अमेरिका आइपुग्ने अवैध आप्रवासीको संख्या अचाक्ली बढेको छ । उनको कार्यकालमा मात्र अहिलेसम्म २८ लाख यस्ता आप्रवासी पक्राउ परिसकेका छन् । 
गत महिना मात्र क्युवा, निकारागुवा र भेनेजुयलाका राष्ट्रपतिहरूलाई पनि आमन्त्रण नगरिने हो भने अमेरिकाले आयोजना गरेको ’अमेरिकाको शीखर सम्मेल’मा भाग नलिने बताएका ओव्राडर र बाइडेनको यो बैठक भएको हो । 
तर मंगलबारको बैठकमा बाइडेनले मेक्सिको ’समान साझेदार’ भएको तथा अमेरिकाको यससँग सुदृढ र रचनात्मक सम्बन्ध रहेको बताएका छन् । -बीबीसीबाट
                    
        
        
                            
                                                            
        



















