इटहरीः  लिम्बुवान  किरात संयुक्त सङ्घर्ष समितिले प्रदेश १ को नामकरण ‘लिम्बुवानकिरात’ राख्न माग राख्दै ३१ वटा संगठनहरुले सयुक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्  । 

प्रदेश १ को नामकरणको बहस पेचिलो बनिरहेको बेला विभिन्न दलसम्बद्ध संस्थाहरूको सहभागितामा बनेको सङ्घर्ष समितिले ‘लिम्बुवान् किरात’ नाम माग गर्दै पहिचानको आधारमा १४ वटै जिल्लाको पहिचान समेटिने गरी उपयुक्त हुने ठहर समेत गरेका छन् ।  

सयुक्त संघर्ष समितिले २०७८ माघ २५ गते लिम्बुवान किरात नामाकरण हुनुपर्ने भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । 

३१ वटा संघ संस्थाका प्रतिनिधिको हस्ताक्षर सहित आइतबार इटहरीको खुकुरी होटलमा  पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । 

आन्दोलनको कार्यक्रममा समितिले ज्ञापनपत्र बुझाउनेदेखि शक्ति प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिले असार २७ मा मुख्यमन्त्री, संसदीय दलको नेता, पार्टी प्रमुखहरू र प्रदेश प्रमुखसम्मलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । असार २८,२९ र ३० गते किरात याक्थुङ्ग चुम्लुङ्गको जिल्ला कार्यसमितिको समन्वयमा जिल्ला स्तरीय समिति निर्माण गर्ने र असार ३२ गते हरेक जिल्लामा कोणसभाको आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । त्यसैगरी संघर्ष समितिले  साउन ५ मा विराटनगरमा बृहत् जनप्रदर्शन गर्ने जनाएको छ ।