इटहरीः इटहरी– २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानमा नारायण गोपालको २८ औं स्मृतिमा साङ्गीतिक कार्यक्रम भएको छ ।
शनिबार भएको सो कार्यक्रम संस्थका अध्यक्ष प्राज्ञ राम धामीको सभापतित्व तथा समाजसेवी टीका ओझा र प्रा.डा. बद्रीविशाल पोखरेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका महासचिव राजु केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित सङ्गीत साधकले नारायण गोपालका गीत गाएका थिए । कार्यक्रममा मोहन तिम्सिनाले म मरे पनि मलाई मेरो देशको माया छ..., अनुप भट्टराईले यो सम्झिने मन छ, म बिर्सूं कसरी..., झरना केसीले केही मिठो बात गर... बोलको गीत गाएका थिए ।
त्यस्तै, वासु श्रेष्ठले म त लालीगुँरास भएँछु...., देविका राईले यति धेरै माया दिई... तथा दुर्गा पराजुलीले सम्हाल ती... बोलको गीत प्रस्तुत गरेका थिए । भूमा अधिकारीले तिमीलाई म के भनौं...., राधिका श्रेष्ठले यति चोखो, यति मिठो..., मणिराज गुरुङले मेरा सबै.... र राम धामीले विपना नभई.... बोलका गीत सो कार्यक्रममा गाएर स्वर सम्राटलाई सम्झिएका थिए ।