इटहरीः संयुक्त अरब इमिरेट्स (युएई) मा श्रम गर्न गएका नेपालीले जन्माएको साहित्यिक सँस्था सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन् । 

प्रतिष्ठानको शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको युएईबाट साहित्यकार भवानी नेपालले प्रदेश पोर्टललाई जानकारी दिएका छन्  ।

 सँस्थाले तत्कालीन अध्यक्ष जीवित खड्कामगरलाई हटाएर बाँकी कार्यकालका लागि अध्यक्षका रुपमा कवि उत्सवलाई सर्वसम्मतिले जिम्मेवारी सुम्पेको हो । शनिबार राति भएको जुम बैठकमा सँस्थाका केन्द्रीय पदाधिकारीहरु, विभागीय प्रमुखहरु र पदाधिकारीहरु, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरु, सँस्थाका केन्द्रीय संरक्षकहरु लगायतको सहभागिता रहेको थियो । 

प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो सँस्थाका वरिष्ठ उपाध्यक्ष थिए । प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्वको युएईमा रहेको छ । यो संस्थाले हरेक वर्ष साहित्यका विविध विधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशनसमेत गर्दै आएको छ । नेपाल लगायतका देशमा यसका शाखा रहेका छन् । 

सगरमाथा साहित्य प्रतिष्ठानमा सन् २०१७ तिरबाट आबद्ध अजित उत्सव केन्द्रीय कार्यसमितिका सदस्य, सचिव, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगिताका सह–संयोजक÷सञ्चार विभाग प्रमुखसमेत रहिसकेका छन् । उनी प्रतिष्ठानका नेपाल इन्चार्जसमेत हुन् ।  विगत एक दशकभन्दा बढी समयदेखि युएईमा कार्यरत उत्सव पर्यटकीय नगरी पोखराका बासिन्दा हुन् ।