धरानः रामेछापका कवि जीवन खत्रीको कविता ‘आगोको आवाज’ विमल गुरुङ स्मृति पुस्तकालय धरानद्वारा आयोजित २८ औं नेपाली कविता प्रतियोगितामा पहिलो भएको छ ।

हिजो धरान १८ स्थित पुस्तकालयमा भएको प्रतियोगितामा खत्रीको कविता पहिलो भएको हो । प्रतियोगितामा काठमाडौंकी कवि स्मीता श्रेष्ठको ‘पासपोर्ट उडान’ शीर्षकको कविता दोस्रो र भयो भने गोरखाको गण्डकी गाउँपालिकाका कवि योगेश घिमिरेको ‘बादल’ शीर्षकको कविताले तेस्रो स्थान हात पारेका हुन् ।

प्रतियोगिताका उत्कृष्ट कविहरूले नगद २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र हात पारे । पहिलो पुरस्कार विजेता खत्रीले आफ्नो पुरस्कारवापतको रकम मधुवन साहित्यिक प्रतिष्ठानको अक्षयकोषमा जम्मा गर्ने घोषणा पनि गरेका थिए ।

प्रतियोगिताको लागि २ सय कविता प्राप्त
आयोजकका अनुसार प्रतियोगिताका लागि देशभरबाट २ सय कविता प्राप्त भएको र १४ वटा कविता छनोट वाचनको लागि छानिएको पुस्तकालयले जनाएको छ । पुस्तकालयका सदस्य सुदीप पाख्रीनका अनुसार २ सय कवितामध्ये १४ वटा कविता कवि मनु मञ्जिल, बद्री भिखारी र हेमन यात्रीले छनोट गरेका थिए भने तीमध्ये उत्कृष्ट ३ कविता विप्लव ढकाल र रमेश क्षितिजले छानेका थिए ।

गीतकार दिनेश थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि अनिल पौडेल, प्राध्यापक डाक्टर टङ्क न्यौपानेलगायतले आफ्ना विचार राखेका थिए । कार्यक्रममा प्रतिनिधि कविता समेत वाचन गरिएको थियो ।