इटहरीः नेपालमा २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पका बारेमा बनेको चलचित्र कथा ७२ को इटहरीमा च्यारिटी सो हुने भएको छ । यही २६ गते इलाइट सिनेमा इटहरीमा उक्त फिल्मको च्यारिटी शो हुने भएको छ ।

शुक्रबार इटहरीको पेरिस होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै च्यारिटी शोका कार्यक्रम प्रमुख किरण बिकले च्यारिटी शोको रकमबाट उठेको रकम भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्ने बताए । विश्वका चर्चित हानोइ इन्टरनेसनल फिल्म फेस्टिभल, डर्बन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, सिकागो अनि सिटल फिल्म फेस्टिभलमा समेत सहभागी भएको यो फिल्म नेपालको काठमाडौ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलमा समेत सहभागी हुँदैछ ।

प्रबिन स्याङ्बोको लेखन तथा निर्देशन रहेको ९० मिनेटको यो चलचित्रलाई स्वतन्त्र फिल्म मेकरहरूको संस्था फरक नेपाली सिनेमाको कम्पनी लोकल सिनेमा प्रालिले निर्माण गरेको छ ।

नेपालका फिल्म हल नभएका जिल्लामा च्यारिटी शो र भएका जिल्लामा हलमा यही २६ गते फिल्म रिलिज हुने फरक नेपाली सिनेमाका अध्यक्ष रुपेश घिमिरेले बताए । घिमिरेका अनुसार फिल्मलाई ‘सिनेमा यात्रा ७२’ नाम दिइएको छ । यसलाई आगामी बैशाख १२ गते सङ्घीय राजधानी काठमाडौंको वसन्तपुरमा भूकम्प आएकै दिन पारेर प्रदर्शन हुने बताइएको छ ।

katha 72 pradeshporta