इटहरीः इटहरी भएर बग्ने टेङ्ग्रा खोलाले बाँध कटान गर्न थालेपछि इलाका प्रहरी र नेपाली सेनाको टोलीले बोराबाँध निर्माण गर्न सुरु गरेको छ ।

गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण सुनसरीको इटहरी लगायतका क्षेत्र जलमग्न भएका छन् भने खोला, खहरेर नालीहरुमा पानीको सतह बढेको छ । इटहरी ८ स्थित नमुना कलेजछेउ भएर बगेको टेङ्ग्रा खोलाको सहत बढेसँगै बाँध क्षेत्र कटान गर्न सुरु गरेपछि नेपाली सेनाको टोलीले बोराबाँध बनाउन सुरु गरेको छ ।

खोलाले हालसम्म ३ देखि ४ फिटको बाँध काटिसकेको छ भने खोलामा पानीको वहाव उच्च गतिमा छ । रातिदेखिको अविरल वर्षा रोकिने संकेत नदेखिएपछि प्रशासनले उच्च सतर्कता अपनाउन जनतालाई अपिल गरिसकेको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले बाढी र डुबानले जनजीवनलाई आतंकित पारेको भन्दै सजग रहन नगरवासीलाई आव्हान गरेका छन् । बिहानैदेखि उद्धार र अनुगमनमा खटिएका मेयर पौडेलले सामाजिक सञ्जालमा जोडिएर पनि नगरवासीलाई सुरक्षित रहन आग्रह गरेका थिए ।