इटहरीः सुनसरीको इटहरीस्थित त्रियुगा होटलमा साहित्यकार पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा इटहरीका थुप्रै साहित्यकार, लेखक तथा समालोचकहरुले सो कृतिमाथि विश्लेषणात्मक टिप्पणी गरेका छन् । कृतिमाथि धारणा राख्दै साहित्यकार तथा समालोचक मनु मञ्जिलले उपन्यासले पञ्चायतकालीन समयमा कठिनाइका साथ नेपाली समाजमा भएको वामपन्थी दृष्टिकोणको विकासको चित्रण गरेको बताए ।

उपन्यास वास्तविकतामा आधारित रहेकाले आख्यानमा हुनुपर्ने म्याजिकल ट्विस्ट अर्थात् चतुर्याइँपूर्ण रहस्योद्घाटनजस्ता तत्वहरुको भने अभाव रहेको उनको भनाइ थियो । यसैगरी, पर्यटन, पर्यावरण र कुटनीतिलाई मुख्य विषयवस्तु बनाएर पत्रकारिता गरिरहेका पत्रकार विराट अनुपमले ‘विश्रामपुर’ विदेशी भूमिमा बसेर लेखकले आफ्नो देशमा बिताएका पलहरुलाई सम्झिएर लेखेको संरणात्मक कृति भएको बताए ।

290001507_10224982973735653_4792694353585354375_n

साथै उनले इटहरी पूर्वको कान्छो शहर भएपनि यहाँ पछिल्लो समय साहित्यिक गतिविधिले तिव्रता पाएको बताउँदै साहित्यिक क्षेत्रमा काम गर्ने उर्जावान युवाहरुको जमात इटहरीको गहना भएको बताए । यहाँ नयाँदेखि पुराना पुस्ताका साहित्यिक तथा प्राज्ञिक व्यक्तित्वहरुबीच पुस्तान्तर भएपनि सम्वाद र सहकार्य भने निरन्तर भइरहनु सुखद पक्ष भएको उनको भनाइ थियो ।

यसैगरी, भाषा सम्पादक दिनेश पौडेलले ‘विश्रामपुर’ उपन्यास कम र इतिहास बढी भएको बताए । उपन्यासको पात्रले सीमान्तकृत समुदायको मर्मलाई अर्थपूर्ण रुपमा मुखरित गर्न सफल भएको उनको भनाइ थियो ।

सो कृतिमा प्रकृतिप्रेम र पर्यावरणप्रति जागरुकता प्रतिबिम्बित भएको उनले उल्लेख गरे । तत्कालीन अवस्थामा उपन्यासले दर्शाएको परिवेशमा वामपन्थी दृष्टिकोणको विकासबारे कृतिले सुन्दर र निर्मम ढङ्गले चित्रण गरेको पनि पौडेलले बताए । वामपन्थी दृष्टिकोणको विकासबारे बोलिएको भएपनि उपन्यासले तत्कालीन सरकारको धारणालाई पनि उत्तिकै महत्वका साथ प्रकट गर्न सफल भएको उनको धारणा थियो ।

290620144_10224999178540763_5348759080425015823_n

कृतिका लेखक पदम गौतमले आफूले कोरोनाकालमा युरोपको पोर्चुगलमा जागिर गुमाएर बेरोजगार भएपछि वाईफाई सुविधासमेत नरहेको गाउँमा बसेर आफूले चिनेजानेका मान्छेहरुको मृत्युको दुःखद खबरका बीचमा बाल्यकालको संस्मरण गर्दै यो कृति तयार पारेको बताए । उपन्यासका घटना तथा पात्रहरु अधिकांश वास्तविक रहेको बताउँदै उनले आफ्नो उपन्यासमा काल्पनिकता न्यून मात्रामा रहेको उल्लेख गरे ।

सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाएर स्थानीयहरुलाई हटाएकोजस्ता वास्तविक घटनालाई उपन्यासमा जस्ताको तस्तै देखाइएको उनको भनाइ थियो । आलोचनात्मक टिप्पणी गरिदिने समालोचक नहुँदा आफूले पुस्तकभित्रका कमजोरी पहिल्याउन नसकेको बताउँदै लेखक गौतमले आगामी दिनमा कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका साथै, उनले अहिलेको भन्दा फरक परिवेशमा गई अनुसन्धान गरेर नयाँ उपन्यास लेख्ने आफ्नो योजनाको रहस्योद्घाटन पनि गरे ।

290544094_10224999177540738_2187623771092812535_n