इटहरीः राष्ट्र बैंकले गैरकानुनी ठहर गरेको क्रिप्टोकरेन्सीको कारोबारमा सलग्न ७ जना युवालाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गत १४ माघमा पक्राउ पर्यो । त्यसको केही दिनपछि भक्तपुरको दुवाकोट–२ का ३० वर्षीय रवीन्द्र अधिकारी पनि क्रिप्टो कारोबारमा संलग्न भएको आरोप पक्राउ परे ।
क्रिप्टो कारोबार नेपालको सबै शहरमा भित्रभित्रै मौलाइरहेको अवस्थामा बल्ल प्रहरी र राष्ट्र बैंक यो कारोबार विरुद्ध खरो प्रस्तुत भइरहेको छ । तर सुनसरीको धरानमा क्रिप्टो कारोबारकै कारण ४७ वर्षीय विनोद लिम्बुको शङ्कास्पद मृत्यु भएको घटनामा प्रहरीको अनुसन्धान अझै निचोडमा पुग्न सकेको छैन ।
गत साउन १४ गते धरान ५ सुन्दर बस्तीमा बस्ने लिम्बुको शव आफ्नै घर भित्र रहेको पानी भर्न प्रयोग हुने हिल ट्याङ्क भित्र बरामद भएको थियो । उनको घाटी रेटिएको र हातका विभिन्न भागमा धारिलो बस्तुले काटिएको थियो ।
यो घटनाको अनुसन्धान गदै जादा लिम्बुको कारोबार अनलाइन मार्फत हुने कारोबार क्रिप्टोको (हाइफरफण्ड) मा लगानी रहेको अनुसन्धानबाट खुलेको थियो । उनको इजरायलमा रहेकी श्रीमतीको समेत कारोबार रहेको देखिन्थ्यो ।
बिट क्वाइन मार्फत चल्ने यसको कारोबारमा लिम्बुको करिब २७ लाख भन्दा बढी रुपैयाँ फसेको घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको दाबी छ । त्यो अलावा मृतक इजरायल रहदा समेत उनको त्यहाँ कारोबार रहेको बताइएको छ । लिम्बु इजरायबाट केही महिना अघि मात्र घर आएका थिए ।
साथै प्रहरी अनुसन्धानको क्रममा लिम्बुको साथमा रहेको मोबाइलको ‘नोट्स’ मा श्रीमतीको नाममा म्यासेज लेखिएको थियो ।म्यासेजमा पनि लिम्बुले क्रिप्टो कारोबारको कुरा उल्लेख गरेका थिए । उनले क्रिप्टो कारोबारको लागि आवश्यक क्वाइन गायब भएको र क्वाइन निकाल्ने पासवर्ड कसैले चोरेको कुरा नोट्समा उल्लेख गरेका छन् । र कारोबार मिलाउन नसक्ने भन्दै उनले यस्तो प्रकारको म्यासेज लेखेका थिए ।
यो घटना अनुसन्धानमा इलाका प्रहरी कार्यालय धरान, संघिय प्रहरी इकाइ कार्यालय धरान, १ नं.प्रदेश प्रहरीको (आरआइटी) हुदै केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरो जोडिएको छ । तर अनुसन्धानको निचोडमा प्रहरी अझै पुग्न सकेको छैन ।

प्रहरीको संयुक्त अनुसन्धान टोलीले घटना पश्चात इजरायलमा रहेकी उनको श्रीमतीलाई नेपाल झिकाएर समेत अनुसन्धान गरेको थियो । केही क्लु पाएपनि घटनाको निचोडमा पुग्न नसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् ।
प्रहरीको अनुसन्धान टोलीले लिम्बुको हत्या वा आत्महत्या भएको भनेर दुई कोणबाट अनुसन्धान गरिरहेको छ । यथपी घटनाको एउटै कारण डिजिटल मनी अर्थात ‘क्रिप्टोकरेन्सी कारोबार’ भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
लिम्बुले मोबाइलमा नोट्स लेखे पश्चात छुराले आफ्नै गला रेटेको हुन सक्ने पनि प्रहरीको अनुमान छ । तर मृतकले आत्महत्या गर्ने मनसाय बनाएर त्यस्तो कार्य गरेपनि ट्याङ्क भित्र पस्ने कुरा ‘अस्वभाविक’ भएको अनुसन्धान अधिकृतको बुझाई छ ।
लिम्बुको शंकास्पद मृत्युको अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल पनि यो घटना आर्थिक कारोबारसँग ‘कनेक्सन’ भएको बताउँछन् । ‘मृतकको विदेश बस्दादेखिको कारोबार बिग्रेको देखिन्छ, डिजिटल मनी सम्बन्धी कारोबार रहेको अनुमान छ ।’
‘धेरै व्यक्ति अनुसन्धानमा छन् ’ दाहालले भने–‘अनुसन्धानको समय सिमा हुन्न चाडै यसको निष्कर्ष आउनेछ ।’
यता इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेम ओली पनि लिम्बुको शंकास्पद मृत्यु अनुसन्धानकै क्रममा रहेको बताउँछन् । ‘इन्टरनेटको माध्यमबाट हुने क्रिप्टो कारोबार यो घटनासँग जोडिएको हाम्रो अहिलेसम्मको अनुसन्धान छ ।’
‘यसको कारोबार विदेशबाटै हुने भएकाले लिम्बू इजराइल बस्दादेखिको कनेक्सन अझै खोतल्दै छौ’ ओलीले भने–‘जसमा हामीले प्रहरीको साइबर ब्यूरो र सिआइबी मार्फत इन्टरपोलको समेत मद्धत लिइरहेका छौ ।’