इटहरीः धरानबाट इटहरी तर्फ आउँदै गरेको ट्यांकरमा सोही दिशाबाट आउँदै गरेको टेम्पो पछाडीबाट मंगलबार(हिजो) दिउँसो इटहरी २ पिपलचोकमा ठोकिदा धरानका एमाले नेता योगेन्द्र बजागाईको निधन भएको छ ।
करिब दिउँसो १ बजेको समयमा धरानबाट इटहरी तर्फ आईरहेको को १ ख ६१०८ नम्बरको तेलको ट्यांकरमा सोही दिशामा गइरहेको को १ ह ६४४१ नम्बरको टेम्पो पछाडिबाट ठोक्किएको थियो । सोही टेम्पोमा सवार रहेका बजगाईसहित ४ जना घाइते भएका थिए । घाइते मध्ये गम्भीर रहेका पूर्वजनप्रतिनिधि समेत रहेका ५६ बर्षीय बजगाईलाई उपचारको लागि वीपी प्रतिष्ठान तर्फ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृतक बजगाई धरान १५ निवासी हुन् । उनि केही साताअघि सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा उनी जिल्ला आयोजक कमिटीका सदस्य पनि थिए । उनि एमाले धरानका अग्रज नेताका रुपमा परिचित थिए ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोही टेम्पोमा सवार धरान १३ की ३४ बषीया निलु वर्मा गम्भीर घाइते भएकी छिन् । उनको ११ बर्षकी छोरी नियासा वर्मा र ४ बर्षकी छोरी दिप्यांकी वर्मा पनि घाइते छिन् । घाइते सबैको वीपी प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
दुर्घटनामा टेम्पो चालक सुनसरी धरान १६ बस्ने बर्ष ४० का रोशन बस्नेत सामान्य घाइते भएकाले उनको उपचारको लागि इटहरीको हलगडामा रहेको सामुदायिक अस्पताल भर्ना गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । टेम्पो तिब्र गतिमा आएकाले ट्यांकरमा पछाडीबाट ठोकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरीको भनाई छ ।