इटहरीः झापामा भारतीय सिमा नजिक बेवारिसे अवस्थामा ठूलो परिमाणको विस्फोटक पदार्थ फेला पारेको छ। झापाको मेचीनगर नगरपालिका वार्ड नं ७ गैरीगाउँबाट विस्फोटक पदार्थ इलेकट्रोनिक डेटोनेटर ८० थान र नेपोलाइट ९१ थान फेला परेको हो ।
विस्फोटक पदार्थ बरामद गरेको स्थान भने नेपाल भारतको सीमा पिलर ९०-१ र ९०-२ नम्बरको बीचमा मेची नदीको किनार नजिक पर्छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा विस्फोटक पदार्थ फेला परेको जनाइएको छ ।
१ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले नेपाल भारत सीमाको नजिक बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद भएको जानकारी दिए ।
‘सशस्त्र प्रहरीको सूचनाको आधारमा लुकाइ राखेको विस्फोटक पदार्थ बरामद भएको हो’ उनले भने–‘कसले कुन प्रयोजनमा यस्तो पदार्थ त्यहाँ लुकाइएको त्यसको अनुसन्धान अब प्रहरीले गर्छ ।’
केही दिनअघि मात्र एउटा भूमिगत समूहले बिर्तामोड र दमक नगरपालिका–५ हरि ओम कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा विस्फोटक बस्तु राखेको थियो। ती बस्तुलाई नेपाली सेनाले निष्क्रिय बनाएको थियो।