इटहरी :केन्द्रीय बैंकले अर्को मुलुकबाट हुने आयातमा कडाई गर्दै नयाँ व्यावस्था गरेको छ । नेपाल राष्ट्र बैँकले मौद्रिक नितीको समिक्षामा गरेको व्यावस्थालाई नीतीमा परिणत गर्दै विदेशबाट आउने सामानको लागि प्रतितपत्र खोल्दा शत प्रतिशत मार्जिक राख्नुपर्ने व्यावस्था गरेको हो । सोमबार एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैँकले आयात हुने वस्तुको कुल मूल्यमा शत प्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयातमा कडाइ गर्ने नीतिअनुरुप नै एलसी खोल्दा अनिवार्य मार्जिनको व्यवस्था गरिएको हो । यसले आयातकर्तालाई वस्तु आयात गर्नका लागि पहिले नै रकम जोहो गर्नुपर्ने अवस्था आएको छ । यस्तो मार्जिन रकममा बैंकहरुले ब्याज प्रदान गर्न पाउने छैनन् । त्यस्तै मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि बैंकले कर्जा प्रवाह (स्वदेशी मुद्रामा) समेत गर्न पाउने छैनन् । उल्लेखित वस्तु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । एलसी खोल्ने बेलामै आयातकर्ताबाट बैंकहरुले मार्जिन रकम लिनुपर्नेछ । आयातको रकम भुक्तानी गर्दा त्यस्तो मार्जिन रकमबाटै तिर्न पाइनेछ । सरकारी निकाय, कूटनीतिक नियोग र अस्पतालहरुले गर्ने आयातमा मार्जिनको व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।


हालसम्म एलसी खोल्दा मार्जिन राख्ने÷ नराख्ने सम्बन्धमा बैंकहरुले आफैं निर्णय गर्दै आएका बैँक वितीय सँंस्थालाई अव भने सरकारी नितीको पालना गनुपर्ने अवस्था आएको छ ।
नयाँ व्यावस्था अनुसार उद्योगहरुले आफ्नै प्रयोजनका लागि आफैले आयात गर्ने कच्चा पदार्थको हकमा भने मार्जिनको व्यवस्था लागू नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ । त्यस्तै औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा पनि अनिवार्य मार्जिनको व्यवस्था हुने छैन ।
सवारी साधनको आयातका लागि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ । अब मोटरसाइकल तथा स्कुटर आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने भएको छ । विद्युतीय र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटरका हकमा भने यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीसाधनका आयातकर्ताले पनि ५० प्रतिशत मार्जिन अनिवार्य राख्नुपर्ने भएको छ । तर विद्युतीय सवारीका हकमा यो लागू हुने छैन ।

बियर, वाइन लगायत मदिराजन्य सबै पदार्थ, सूर्तीजन्य पदार्थ, चाँदी, लगायतका वस्तु आयातमा शत प्रतिशत मार्जिन राख्नुपर्ने भएको छ । त्यस्तै फर्निचर सम्वन्धी वस्तुमा पनि शत प्रतिशत मार्जिन राख्नुपर्नेछ । चिनी तथा मिठाइजन्य वस्तु, ग्लुकोज, मिनरल वाटर, इनर्जी ड्रिङ्क, ककटेल ड्रिङ्स, मेकअपका सामान, स्याम्फू, कपालमा लगाउने तेल तथा कलर, टोपी, जुत्ता, छाता लगायत वस्तु आयातमा शत प्रतिशत मार्जिन राख्नुपर्नेछ । त्यस्तै निर्माण सामाग्रीहरू इँटा, मार्बल, टायल्स, सेरामिक्सजस्ता वस्तुमा पनि शत प्रतिशत मार्जिन तोकिएको छ ।