इटहरीः पर्याप्त दूध पाउने बेला पनि अहिले डेरीहरूको संकलन परिमाण घटेको छ। सरकारी र निजी क्षेत्रका डेरीले कच्चा दूधले नपुगेर पाउडर र बटर प्रयोग बढाएका छन्। यहीबेला राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउने तयारी गरेको छ।
बोर्डले बिगतमा दुई वर्षको अन्तरालमा मूल्य बढाउने गरेको थियो। दूधको उत्पादन परिरहेको लागत र आम्दानीको हिसाब हेर्न थालेको हो। तयारी सुरु भएकै हो तर नयाँ मूल्य निर्धारण वैज्ञानिक आधारमा हुनेछ,बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले भने।

यतिबेला बोर्डले देशभरबाट लगतका तथ्यांकहरु भेला पारेर समीक्षा सुरु गरेको छ। बोर्डले पहिलेको भन्दा फरक तरिकाले वैज्ञानिक आधारमा मूल्य बढाउने तयारी गरिरहेको यादवको भनाइ छ। पुसको तेस्रो सातासम्म हामी एकीकृत रिपोर्ट बनाउँछौं। यसका लागि गृहकार्य भइरहेको छ, उनले भने, ुहाम्रा कर्मचारीहरु विभिन्न जिल्लाहरुमा रिपोर्टका लागि गइसकेका छन्।

मुलुकमा सरकारी र निजी डेरीहरूले सामान्य अवस्थामा दैनिक ३२ लाख लिटर दूध संकलन गरिरहेका थिए। यो गत वर्षकै तथ्यांक हो। यो वर्ष परिमाण बढ्न पर्नेमा त्यसो हुन नसकेको बोर्डले जनाएको छ।

उक्त रिपोर्ट तयार भएपछि केही समयमा नै दूधको मूल्य बढ्ने कार्यकारी निर्देशक यादवले बताए। ुबजारको अवस्था हेरेर मात्र मूल्य बढाउन मिल्दैन। त्यसैले वैज्ञानिक आधारमा मूल्य निर्धारण गर्न अहिले विशेष अध्ययन भइरहेको छ,ु उनले भने, ुमूल्य बढाउदा किसानलाई कस्तो असर गर्छ, उपभोक्तालाइ कति असर पर्छ र डेरी उद्योगलाई के फाइदा हुन्छ भन्ने हिसाब हेरिरहेका छौं।ु

दूधको मूल्य केही महिना अघिदेखि नै बढाउनुपर्नेमा पशुपालकहरुबाट माग आएको थियो। कोरोना महामारीका बेला दूध बिक्री घट्दा पशुपालकहरु पनि घटेका थिए, जसको असर अहिलेको संकलन परिमाणमा परेको छ। यतिबेला दूध र दुग्धजन्य पदार्थको बजार माग जुन अनुपातमा बढेको छ, उक्त अनुपातमा उत्पादन बढ्न सकेको छैन।

मूल्य निर्धारणका लागि सुझाव दिने तयारी गरेको बोर्डले अन्तिम निर्णय कृषि मन्त्रालयले गर्ने जनाएको छ। मूल्य बढाउन एसोसिएसनहरुको भनाइ सुनेर मात्र कार्यान्यन गर्न मिल्दैन। मूल्य लिटरमा कति बढाउँदा उपयुक्त भन्ने टुंगो भइसकेको छैन, यादवले भने।

सबै जिल्लाबाट रिपोर्ट आएपछि सुझाव तयार हुने बोर्डले जनाएको छ। संकलन केन्द्रहरुमा दूधको गुणस्तर जाँचेर मात्र मूल्य तोकिने गरेको छ।२०७६ भदौमा दूधको मूल्य लिटरमा ६ रुपैयाँले बढाइएको थियो।

निजी क्षेत्रबाट फुटकर बेच्नेहरुले भने कतै एक सय र कतै लिटरको एक सय २० रुपैयाँसम्म लिन थालिसकेका छन्।

पशुपालनमा बढ्यो लागत, घट्यो आम्दानी

किसानका सहकारीहरूले दूधका लागि गरिने पशुपालनमा परिरहेको लगानीका अनुपातमा फाइदा घटेको जिकिर गरिरहेका छन्। पछिल्लो समय बजारमा दूधको माग बढ्ने क्रममा छ तर उत्पादन घटेको छ। कोभिडपछि अन्तर्राष्ट्रिय बजारमा नै दानालगायतका कच्चा पदार्थको मूल्य बढ्दा यसको असर दूधको मूल्य पनि चाप परेको छ।

२ वर्षको अन्तरालमा कृषि क्षेत्रमा लागत बढी पर्न थालेको छ। केही समययता दाना महँगिएको छ भने ‌औषधीको मूल्य पनि बढेको छ। यसले गर्दा बोर्डले बढेको मूल्य र किसानलाइ पर्न गएको खर्चलाई मध्यनजर गर्दै मूल्य बढाउने तयारी गरेको कार्यकारी निर्देशक राजेन्द्र यादवले बताए। बीजमाण्डुबाट