इटहरीः सुन र मदिरा आयतमा अब बैंकहरुले ऋण नदिने भएका छन् । गाडी आयतमा समेत बैंकहरुले अब ५० प्रतिशत मात्र ऋण लगाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बस्तु आयातमा कडा नीति लिएसंगै यस्तो भएको हो । मुलुकको शोधनान्तर घाटा डेढ खर्ब नाघेपछि राष्ट्र बैंकले आयातमा कडा नीति लिएको हो। ब्यवसायीले जति परिमाणको बस्तु ल्याउने हो त्यसमा लाग्ने पैसा आफैले जम्मा गर्नु पर्छ। यसअघि बैंक ऋण लिएर उनीहरुले बस्तु आयात गर्न पाउँथे।

राष्ट्र बैंकले गाडी आयातमा ५० प्रतिशत बैंक ऋण लिन पाउने सुविधा दिएको छ। तर केही अन्य बस्तुहरुमा एक रुपैयाँ पनि ऋण लिन पाइँदैन। जस्तो चिनी र चकलेटका साथै ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सुर्तिजन्य बस्तु, परफ्युम, कस्मेटिक सामान, काठका बस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामानमा पनि बैंक ऋण नलिइ एलसी खोल्नु पर्ने हुन्छ।

यसबाहेक सुनचाँदी जस्ता बहुमूल्य बस्तु आयात गर्न पनि बैंक ऋण लिन पाइँदैन। उदाहरणका लागि यसअघि १ करोडको सामान आयात गर्नु पर्दा ऋणीले बढिमा एक लाख रुपैयाँ आफ्नो पैसा हाले हुन्थ्यो। अझ नियमित ग्राहक र कर्पोरेट ग्राहक छ भने त्यो पनि पर्दैन थियो। उनीहरुले सबै बैंक ऋणबाटै आयात गर्न पाउँथे।

अब भने यी बस्तुको आयात गर्ने हो भने शत् प्रतिशत पैसा आँफैले हाल्नु पर्छ। बैंकले एलसी शुल्क लिएर सहजीकरण मात्र गरिदिन्छन्। यसले गर्दा आयातमा निरुत्साहन पुग्ने राष्ट्र बैकका अधिकारीहरुले बताए।

उच्च आयातले विदेशी मुद्राको सञ्चिति घटेका कारण बैंक ऋणलाई निरुत्साहित गर्न यो नीति ल्याउनु परेको उनीहरु बताउँछन। बैंकरका अनुसार राष्ट्र बैंकले तोकेको बस्तु ल्याउन अब निक्कै गाह्रो पर्ने छ। किनभनेर अहिले लगभग शुन्य आफ्नो पैसामा सामान आयात गर्न पाइएको थियो। सबै बैंकले ऋण दिने गरेका थिए। अब भने बैंकको पैसा प्रयोग हुँदैन।

ठूलो परिमाणमा सामान आयात गर्नेले आफ्नो पैसा हालेर अब सामान ल्याउनै सक्दैनु नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने,-यसले तोकिएका बस्तुहरुको आयात धेरै हदसम्म रोकिन्छ।